Tuesday, April 21News That Matters

गाइघाटमा प्रहरी र व्यापारीबीच झडप

पूर्णपुष्टि, जेठ २६ ।

स्थानीय प्रशासनले तोकेको समयभन्दा पछि राखिएका तरकारी हटाउने क्रममा आज प्रहरी र व्यापारीबीच तनाव सिर्जना भएको छ । गाईघाट बजारमा साँझ तनाव भएको हो ।

विहान ११ बजेसम्म मात्र पसल, बजार खुल्ला गरेकोमा केही तरकारी पसलहरु साँझमा राखेपछि प्रहरीले हटाउदै आएको थियो । त्यसक्रममा प्रहरीले तरकारी फालिदिदै व्यापारी सर्बसाधारणलाई तितरवितर पारेको थियो । प्रहरीले लाठी प्रहारसमेत गरेर सर्बसाधारणलाई समेत कुटपिट गरेको ब्यापारीहरुको आरोप छ । ब्यापारीहरुले केहीबेर भीडभाड गर्दै नाराबाजीसमेत गरेका थिए ।

त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले ब्यापारीहरुलाई प्रशासनले तोकेको समय पालना गराउने  भन्दै लकडाउन खुकुलो पार्न अनुरोध गरेको थियो । प्रशासन कार्यालयमा वैठक नै बसेर समय ताेकिएकाे थियाे । व्यापारीहरूलाइ समय पालना गराउने मात्र हैन काेराेना संक्रमणप्रति पूर्ण सतर्कता अपनाउन सामाजिक दुरी कायम, मास्क प्रयाेग जस्ता कुराहरू पालना गराउन संघकाे भुमिका रहने भनेकाे थियाे । तर बजारमा ब्यापारीहरुले प्रहरी घुम्दा बन्द गर्ने र प्रहरी हिडेपछि खोलिहाल्ने खेल चलिरहेको छ । यसैको फलस्वरुप प्रहरी र ब्यापारीबीच तनावको स्थिति सिर्जना भएको छ ।

प्रशासनले ब्यापारीहरुको माग र नागरिकको सहजतालाई मध्येनजर गर्दै केही खुकुलो पारेको थियो । तर खुकुलो पारेसंगै बजारमा प्रशासनले तोकेको ११ बजेभन्दा पछिको समय पनि मानिसहरुको भिडभाड र पसलहरु छुकिछिपी खोल्ने काम भईरहेको छ ।

लकडाउन केही खुकुलाे पार्दा नागरिक समाजकाे तर्फबाट अनुगमन गर्ने भनिएकाे थियाे । साेही अनुरूप अनुगमन गर्दा अधिकांश ब्यापारीहरूले लकडाउनकाे पालना र काेराेनाप्रतिकाे सतर्कता अपनाएकाे नपाइएकाे नागरिक समाजका अगुवा भरत खड्काले बताउनुभयाे । स्वयम् नागरिकहरूलेसमेत पालनाकाे सट्टा लापरवाही गरेकाे पाइएकाे उहाँले बताउनुभयाे । प्रशासनले ताेकेकाे समय र लकडाउनकाे अनुशासन पालना गराउने भन्दै बजार केही खुकुलाे पार्न त्रियुगा उद्याेग वाणिज्य संघकाे अनुराेध गरेकाे भएपनि पालना गराउने कुरामा भूमिका प्रभावकारी नहुदा झडपकाे स्थिति देखिएकाे नागरिक समाजका अगुवाहरूकाे भनाइ छ । त्रियुगा उद्याेग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले ब्यापारीहरूलाइ भाेलीदेखि थप संयमित हुन र प्रशासनले ताेकेकाे समय भन्दा अन्य समयमा पसल, ब्यापार नखाेल्न थप समन्वय बढाउने बताउनुभयाे ।

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले सर्बसाधारणको सहजतालाई मध्येनजर गर्दै विहान ११ बजेसम्म बजार खुल्ला छाडेपनि त्यसपछिको समयमा लकडाउनको उलंघन हुने काम भईरहेको बताउनुभयो । त्यसलाई प्रहरीले कडाई गर्ने क्रममा ब्यापारीहरुसंग तनावको स्थिति सिर्जना भएको बताउनुभयो । आज बजारमा भएको तनावको बारेमा ब्यापारीहरुको प्रतिनिधिहरुसंग छलफल भईरहेको उहाँले जानकारी दिनुभयो ।