
पूर्णपुष्टि, जेष्ठ ६ ।
कोरोना संक्रमणको सन्त्रास फैलिरहेको अवस्थामा गलत हल्ला र भ्रम फैलाउने काम पनि भइरहेको छ । केहि समय अघि उदयपुरमा संघार खनेर कोरोनाको औषधि भेटिन्छ भन्ने भ्रम फैलिएको थियो । अहिले भने गाईघाटस्थित पाथिभरा दुग्ध डेरी उद्योगका सञ्चालकलाई कोरोना लागेको भन्ने गलत हल्लाले डेरीको व्यवसायमा असर परेको छ । गएको जेठ ३ गते एक्कासी बजार हल्ला चलेपछि डेरीमा नियमित आउने ग्राहक घटेको सञ्चालक अशोक लिम्बुले बताउनुभयो । आफु, आप्mनो कामदार र परिवारका सदस्यहरु कसैलाई कोरोना त हैन, सामान्य विमारसम्म नभएको स्पष्ट पार्दै सञ्चालक लिम्बुले गलत हल्लाले व्यवसायमा असर परेको गुनासो गर्नुभयो । आफुहरु जोखिमपूर्ण क्षेत्रमा पनि नगएको र ग्राहकसंग पनि सामाजिक दुरी कायम गरेर, सतर्कताका साथ व्यवहार गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लाको विभिन्न ठाउँमा दुध संकलन केन्द्र राखेर दैनिक १ हजार दुई सयदेखि १ हजार ५ सय लिटरसम्म दुध संकलन गरी खपत गर्दै आएको डेरीमा दुध, दही विक्रीमा कमी भएपछि किसानको पनि दुध विक्री हुन सकेको छैन । विगत १५ वर्षदेखि सञ्चालनमा रहेको उक्त डेरीले रामपुर, फत्तेपुर, लालपत्तासम्म पनि दुध संकलन केन्द्र राखेर किसानको दुध किनेर, विभिन्न दुधजन्य चीजहरु बनाएर विक्री गर्दै आएको छ । डेरीले दुध, दही, मही, ध्यु, पनिर, कुराउनी, छुर्पी उत्पादन गर्दै आएको छ । साथै बेकरी समेत सञ्चालनमा छ । गलत हल्ला पछि उत्पादनहरु विक्रीमा कमी आएको सञ्चालक लिम्बुले बताउनुभयो ।
डेरी व्यवसायमा परेको असरका कारण गाई भैसी पालक कृषकहरुलाई समेत असर परेको छ । गलत हल्लापछि कृषकहरु प्रत्यक्ष मारमा परेको हडियाका कृषक घनश्याम पोखरेलले बताउनुभयो । सप्तश्री पशुपालन फर्म तथा दुध संकलन केन्द्रका सञ्चालकसमेत रहेका पोखरेलले हल्लाका कारण दुध विक्री नहुँदा कृषक मारमा परेको बताउनुभयो । गलत हल्लापछि व्यक्तिगतरुपमै पनि सामाजिक तिरस्कारमा पर्नुपरेको दुखेसो पोखेका पोखरेलले त्यस्ता गलत हल्ला र भ्रम फैलाउनेलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभयो ।
गलत हल्लाले डेरीका नियमित ग्राहकहरु मात्र नभई समुदायमै त्रास पैदा गरेको स्थानीयले बताएका छन् । हल्लाले गर्दा सो डेरीबाट ल्याएको दुध निल्नु न ओकल्नु भएको गाईघाटको सरिता राईले बताउनुभयो । पछि गलत हल्ला हो भन्ने सुनेपछि ढुक्क भएको उहाँले बताउनुभयो ।
कहिले कामदार त कहिले सञ्चालकलाई कोरोना लागेको छ भन्दै हल्ला फैलाइएको उहाँले बताउनुभयो । व्यवसायलाई नै असर पार्ने नियतले कसैले हल्ला फैलाएको होकि भन्ने आशंका गरिएको छ । किटानी जाहेरी दिनेगरी गलत हल्ला फैलाउनेको खोजी आप्mनो तर्फबाट गरिरहेको र प्रहरीलाई छानविन तथा दोषीलाई कारवाहीका लागि उजुरी दिने तयारी रहेको लिम्बुले बताउनुभयो ।
हाल कोरोना संक्रमण नियन्त्रणमा प्रशासन लागिरहेको छ । संकास्पद व्यक्ति तथा संक्रमण क्षेत्रमा निगरानी राखेर स्वास्थ्य कार्यालयले परिक्षणको कार्य अगाडि बढाइरहेको छ । यस्तो अवस्थामा एक्कासी अनावश्यक हल्ला फैलिएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले गाईघाटमा त्यस्तो कुनै डेरीमा कोरोनाको शंका नरहेको र कतैबाट त्यस्तो खबर नआएको बताउनुभयो । सम्बन्धित सरकारी निकायको सूचना विना बजारको अनावश्यक हल्लाको पछि लाग्न पनि आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले कोरोना नलागेको मानिसलाई लागेको भन्दै हल्ला गर्नेलाई कानूनी कारवाही हुने बताउनुभयो । यस्ता गलत हल्ला फैलाउने मानिस पत्ता लागेको खण्डमा कारावाही गरिने उहाँले बताउनुभयो । अहिलेको विषम् परिस्थितिमा यस प्रकारको गलत भ्रम सिर्जना गर्ने र समाजलाई आतंकित बनाउने काम कानुन विपरित भएकाले कसैले नगर्न र नगराउन चेतावनी वहाँको छ ।
फोटो फिचरहरु


