
उदयपुर, फागुन १५ गते ।
गाउँघरका महिलाहरुले अझै पनि लाजका कारण पाठेघरको चेकजाँच नगराउदा क्यान्सरसम्मको जटिल समस्यामा पर्ने गरेको कुरालाई मध्येनजर गर्दै उदयपुरको त्रियुगा नगरपालिका–१६ शाहीखोलामा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना भयो ।
त्रियुगा नगरपालिका, आधारभूत स्वास्थ्य सेवा तथा सरसफाई कार्यालय र १६ नम्बर वडाको आयोजनामा भएको शिबिरमा पाठेघर खस्ने रोगीको स्क्रीनिङ, रिङपेशरी तथा भीआइए सम्बन्धी जाँच गराईएको थियो । साथै सबैखाले साधारण चेकजाँच, परामर्श तथा औषधि वितरण भएको थियो ।
स्वास्थ्य कार्यालय उदयपुर, ओरेक नेपाल उदयपुर र रक्तमाला सामुदायिक वन उपभोक्ता समूह शाहीखोलाको सहयोग रहेको शिविरमा नगरपालिकाभित्र रहेका दुर्गम गाउँवस्तिका सर्बसाधारणले स्वास्थ्य जाँच गराएका थिए ।
आधारभूत स्वास्थ्य सेवा तथा सरसफाई प्रमुख रामसेवक यादवका अनुसार शिविरमा महिला चिकित्सक तथा कर्मचारीको व्यवस्था मिलाइएकाले महिलाहरुले उत्साहजनकढंगले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा अधिकांश महिलाले पाठेघरको समस्या बारे चेकजाँच गराएको सिअहेव अवधनारायण यादवले बताए ।
जनचेतना, आर्थिक लगायतका कारणले स्वास्थ्यको पहँचबाट टाढा रहेका वडाबासीलाई गाउँघरमै सुविधा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको वडाध्यक्ष मानबहादुर राईले बताए । स्वास्थ्य शिविरसंगै अन्य जनताको कामहरु पनि शिविरमा गरिएको उनले बताए । वडाबाट हुने सर्बसाधारणको सिफारिस, व्यक्तिगत घटना दर्ता जस्ता कामका साथै विउविजन वितरण र बृद्धृद्धालाई न्यानो दोसल्ला वितरण कार्यक्रम पनि भएको थियो ।