
ऋषि राई
कटारी, असार २५ गते ।
उदयपुरको कटारी नगरपालिका ५ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने ऐतिहासिक गैंडा आहालको व्यवस्थापन गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने भएको छ । प्रचारप्रसार र उचित संरक्षण अभावमा पर्यटनको सम्भावना बोकेको मनोरम गैंडा आहाललाई कटारी नगरपालिकाले डिपिआर तयार गरेर नै व्यवस्थित गदैं संरक्षण गर्ने भएको हो ।
१५ वर्षअघि जिल्ला विकासअन्तर्गत जीटीजेडको सहयोगमा पोखरी संरक्षणका लागि सामान्य बाँध लगाइएको थियो । त्यसयता कुनै काम हुन सकेको छैन । वनभोजस्थल निर्माण गर्ने चर्चा बेलाबेला चलाए पनि थप काम हुन सकेको छैन् । कटारी नगरपालिकाले आर्थिक वर्ष २०७६।७७को नीति तथा कार्यक्रमबाटै आहालको संरक्षण गर्ने तयारी थालेको छ । ‘वार्षिक नीति तथा कार्यक्रममै आहालको व्यवस्थापनका लागि कार्यक्रम बनाईएकाले तुरुन्त काम थाल्ने छौं ।’कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले भन्नुभयो ।‘यहि साउन भदौदेखि डिपिआर तयार गरेर यसलाई कटारीकै पर्यटन क्षेत्रको रुपमा विकास लागि काम गर्दै संरक्षण गर्ने प्रतिवद्धता जनाउँछु ।’मेयर श्रेष्ठले आप्mनै पहलमा काम अगाडि बढाउने पनि बताउनुभयो ।
मेयर श्रेष्ठले तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी समक्ष समेत गैंडा आहालको पूर्वाधार विकासका लागि कटारी नगरपालिकाको तर्पmबाट मन्त्रालयमा माग गर्नुभएको थियो । अधिकारीले आहालको संरक्षण र विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको भएपनि उहाँको निधनसँगै मन्त्रालयमा यसको काम अघि बढ्न नसकेको मेयर श्रेष्ठले बताउनुभयो ।
स्थानीयका अनुसार विगतमा चुरे क्षेत्रबाट गैंडा आहाल खेल्न आउँथे । त्यसैले यसको नाम गैंडा आहाल रहन गएको हो । २०३० अघि आहाल आसपासका क्षेत्रमा बस्ती बसेको थियो तर त्यहाँ गैंडा संरक्षणमा समस्या हुने भन्दै तत्कालीन वनमन्त्री हरिबहादुर बस्नेतले बस्ती सार्न लगाउनुभएको थियो ।
यहाँ पानी हिउँदवर्षा कहिल्यै सुक्दैन । विभिन्न वन्यजन्तु आउने गरेको स्थानीय बताउँछन् । चारैतिर हरियाली जंगल र वरपरको चौरले पोखरी मनोरम देखिन्छ । यसको संरक्षण र आकर्षक पूर्वाधार निर्माण गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने संभावना रहेको छ ।
पोखरी पुग्न कटारी बजारबाट सवारी साधनका माध्यमबाट २० मिनेट मात्र लाग्छ तर पनि त्यहाँ पुग्ने बाटोको अभावमा बजारवासी धेरैलाई नै गैँडा आहालबारे राम्रो जानकारी छैन । पोखरीको संरक्षणसँगै वरपर पार्क निर्माण गरी वनभोजस्थलका रूपमा विकास गर्न सकिने सम्भावना उत्तिकै छ ।