Friday, May 22News That Matters

गौरबका नौं आयोजनासहित लिम्चुङबुङको गाउँसभा सम्पन्न

पूर्णपुष्टि, असार १६

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ३५ करोड ५९ लाख ५६ हजारको बजेट सीमा निर्धारण गर्दै सातौं गाउँसभा अधिवेशन हिजो सम्पन्न गरेको छ ।

“सवल भौतिक पूर्वाधारहरुको निर्माण गर्दै शिक्षा तथा स्वास्थ्यमा दिगो लगानीको प्रतिबद्धता–व्यावसायिक कृषि, पर्यटन तथा लघु उद्यममार्फत दिगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ सोमबार गाउँसभा सम्पन्न गरेको हो । सभाले गौरबका नौं आयोजना छनौट गरेको छ । दुईवर्षभित्रमा गाउँपालिका प्रशासकीय भवन तथा वडा कार्यालयहरुको भवन निर्माण गरी सुलभ सेवा प्रवाह गर्ने लक्ष लिएको छ । त्यस्तै वडा नं. १ र २ मा स्वास्थ्यचौकी भवन निर्माण गर्ने, महेन्द्र मावि बराहा र क्याप्टेन पर्शुराम पद्मा राई उच्च मावि बलम्तामा सदरमुकाम स्तरको शैक्षिक गुणस्तर प्रवा गर्ने, अध्यक्ष कृषि परियोजनामार्फत गाउँपालिकामा व्यवसायिक तथा आधुनिक कृषिको विकास गर्दै आर्थिक समृद्धिको आधार निर्माण गर्ने र एभरेष्ट भ्यूटप दोवाटेडाँडालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने लक्ष लिएको छ ।

पालिकाले समग्रमा भौतिक पूर्वाधारलाई प्राथमिता दिदै बजेट विनियोजन गरेको छ । पूर्वाधारतर्फ ९ करोड ३० लाख विनियोजन भएको छ । गौरबका नौ आयोजनाका लागि ७ करोड, सामाजिक विकासतर्फ ४ करोड ३७ लाख ५६ हजार बजेट विनियोजन छ । आर्थिक विकासतर्फ २ करोड ३० लाख विनियोजन छ । कोषहरुको व्यवस्थापनका लागि १ करोड ३० लाख, विपद् व्यवस्थापनतर्फ ४५ लाख र संस्थागत विकासतर्फ १५ लाख बजेट विनियोजन भएको छ ।

पाँच वडालाई ४० लाखको दरले बजेट सिलिङ प्रदान गरिएको छ भने प्रत्येक वडामा ५० लाखको ठूलो पूर्वाधार निर्माणका लागि बजेट छुट्याएको छ ।

पालिकाका अध्यक्ष मेजरकुमार राईले निती, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो भने पालिकाकी उपाध्यक्ष रमिला राईले बजेट वक्तव्य प्रस्तुत गर्नुभयो ।

गाउँसभा भब्य र सभ्यरुपले सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जनकुमार लिम्बुले बताउनुभयो ।