Sunday, June 28News That Matters

ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते

पूर्णपुष्टि, चैत ९

भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किदा छ जना घाईते भएका छन् ।

आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिण्डर पड्किएर आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरु डा.ईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेको जनाईएको छ ।

त्यस्तै, आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन् । झापा विश्वशान्ति गाउँपालिका–२ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक– ५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई मध्यपुर अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुर बर्न सेन्टरमै रिफर भैसकेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

घाइते ६ जनाकै शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ ।