पूर्णपुष्टि, पुष १३ । ईलाका प्रहरी कार्यालय बुटवले घुस प्रकरणमा मुछिएका रुपन्देही प्रहरी नायाक उपरीक्षक (डिएसपी) ठकबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
गृहमन्त्रालयले निलम्बनकालागि सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानाकारी दिनुभयो । उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । ब्यूरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याविनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो ।
उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो । उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइवीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
सिआइवीको टोलीले त्यसपछि बदामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । प्रहरीका अनुसार उनीमाथि व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि घुस लिएको आरोप छ ।
