Friday, October 4News That Matters

चन्दको मेरी ज्यानु बजारमा

मायामा डुब्ने मायालुहरुको भावलाई समेटेर तयार पारिएको कलाकार तथा निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ को “मेरी ज्यानु….” बोलको मौलिक नेपाली लोक झ्याउरे गीत र भिडियोले बजारमा चर्चा बटुलेको छ ।

रंगपत्रकारितामा विगत डेढ दशकदेखि कलम चलाउँदै लामो समयदेखि नेपाली कलाक्षेत्रमासमेत सक्रिय चन्द आफ्नो नविनतम प्रस्तुति ‘मेरी ज्यानु’ लिएर आएपछि बजारमा चर्चा बटुलेको हो ।

चन्दको मेरी ज्यानुले नेपाली साँगितिक बजारमा तताएर चर्चामा आउन सफल भएको छ । रंग पत्रकारिताबाट चन्दले गीत लेखनमासमेत हात हालेका हुन् । लोकलयमा गीत लेख्न रुचाउने उनको तामाङ सेलो गीत र झ्याउरे लयको मेरी ज्यानु बोलको गीत रेकर्ड भैसकेको र एउटा लोकलयको गीत रेकर्डिङको तयारीमा रहेको छ ।

चन्दको नविनतम लोकलयको यो ‘मेरी ज्यानु’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । उनको यो प्रस्तुति नेपाली गीत संगीतको क्षेत्रमा पृथक किसिमको रहेको बताइन्छ । मौलिक नेपाली झ्याउरे लयमा तयार उक्त गीतले नेपाली साँगितिक क्षेत्रमा आफ्नो छुट्टै बजार बनाउने निर्माण पक्षको अपेक्षा छ ।

झ्याउरेलयको नयाँ गीतहरुको बजारमा खडेरी रहेको अवस्थामा सार्वजनिक भएको मेरी ज्यानु भिडियो निकै नै उत्कृष्ट बनेको छ । माया प्रेमका भावनालाई गीतमा ढालेका चन्द लामो समयदेखि अभिनय, नृत्य अनि निर्देशनमा समेत ब्यस्त अकृच कै लय तथा शब्द अनि चर्चित संगितकार सूर्य्किरण लामाको संगीतमा कमल दाहाल, जितु लोप्चन, नानीराम परियार, कुमारी तामाङले कर्णप्रिय स्वर दिएका छन् ।

भिडियोमा मनोज श्रेष्ठ, जानुका श्रेष्ठ, पाल्देन लामा, स्वेता गोले, दुर्गेश थोकर, मालती कुवँरको जिवन्त अभिनयका साथै मदरल्याण्ड स्कूल भक्तपुरका विद्यार्थीहरुको आकर्षक नृत्यले झनै उत्कृष्ट बनेको छ । गौरीशंकर साँस्कृतिक समूह पाँचखाल खावाको निर्माण रहेको उक्त भिडियोलाई अमरकृष्ण चन्दले निर्देशन गरेका छन् ।

भिडियोमा अशोक रंजितको छायाँकन तथा सम्पादन रहेको छ भने श्रृङ्गार मञ्जु मानन्धरको रहेको छ । भिडियोको परिकल्पना भने गौरीशंकर साँस्कृतिक समूहका अध्यक्ष सुमित तामाङले गरेका हुन् । बिशुद्ध लोक लय झ्याउरे लयमा तयार मेरी ज्यानु लोक पारखीहरुको लागि मीठो खुराक बनेको छ ।

मेरी ज्यानुको सफलतासँगै गितकार निर्देशक चन्दको समेत नेपाली साँगितिक बजारमा चर्चा बटुल्न सफल भएका छन् । भिडियोलाई बुढा सुब्बा म्युजिकले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0