
पूर्णपुष्टि, जेठ ११ गते ।
चीनबाट नेपालको राजधानी काठमाण्डौँसम्म कार्गो सेवा सुरु भएको छ । उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सहरबाट नेपालका लागि कार्गो सेवा सुरु भएको हो ।
शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरू बोकेको कार्गो सहितको रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्से प्रस्थान गरेको छ । सिगात्सेबाट कार्गोका सामानहरू ट्रकमा हालेर काठमाण्डौं ल्याइने द चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडले जनाएको छ ।
यस रेल शाङसीबाट नेपालमात्र नभई समग्र दक्षिण एसियाको लागि नै पहिलो सडक रेल कार्गो ट्रान्सपोर्ट सेवा हो । रेल सेवा सञ्चालन र संयोजन द चाइना रेल–वे सियान ग्रुप कम्पनी लिमिटेड र चाइना रेल–वे कन्टेनर ट्रान्सपोर्ट कम्पनी लिमिटेडले संयुक्त रुपमा गरेको छ ।
यो कार्गो काठमाण्डौं आइपुग्न ८ दिन लाग्ने छ । अहिले पनि सिगात्सेसम्म नेपालका लागि चीनका अन्य केही प्रान्तबाट कार्गो आउने गरेको छ । नेपालको नाका रसुवागढी र तातोपानी हुँदै कार्गोमा आएका सामान नेपाल भित्रनेछन् ।
