Monday, June 29News That Matters

चोरी भएको मुर्ती अमेरिकाद्धारा नेपाललाई हस्तान्तरण

पूर्णपुष्टि  फागुन २२ 

ललितपुरको पाटनबाट ३७ वर्षअघि हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।

वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हामले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव–कमलाजाको मूर्ति हस्तान्तरण गर्नुभएको थियो ।

नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव–कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी लागेको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो ।

मूर्तिबारे सूचना दिने न्यूयोर्कमा रहेको जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनकाअनुसार डल्लास सङ्ग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो ।

त्यसका लागि सङ्ग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन माग गरेका थिए । नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जनाएको छ ।

रकम अभावका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव–कमलाजाको मूर्तिलाई लागेजति खर्च ब्यहोरेर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।