Friday, February 14News That Matters

छौडिया खोलाको बाढीले ठूलो धनजनको क्षती

उदयपुर, असार ३१ गते ।

छौडिया खोलामा एक्कासी आएको बाढीले रौतामाई गाउँपालिका ७ मुर्कुची बजारमा धनजनको क्षती पुर्याएको छ । एक बालकको मृत्यु, एक गम्भिर घाईते हुनेगरी मुर्कुची बजारमा पसेको बाढीले एक दर्जनमा क्षती पुर्याएको छ सयको हाराहारीमा घरपरिवार प्रभावित बनेकाछन् । खानेपानी योजनाको भवन बगाएको छ भने कृषि केन्द्र भवन र सव डिभिजन कार्यलयको भवनमा क्षती पुर्याएको छ । घरगोठ बगाएसंगै संगुर, राँगा, खसी बाख्रा बगाउनुका साथै धान रोपिसकेका खेतहरु बगरमा परिणत भएकाछन् ।

रातमाटे भन्ने ठाउँमा पहाड भत्किएर खोला थुनिएको र राती एक्कासी जमिएको पानी बाढीको रुपमा बग्दा मुर्कुची बजारमा ठूलो क्षती भएको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु र गाउँपालिकाका अध्यक्ष सहितको टोलीले विहान घटना स्थलको निरिक्षण गर्ने क्रममा उक्त कुरा पत्ता लागेको हो । बजारबासीले दिउसो खोलामा पानीकम देखे पनि वर्षाद घटेको ठानेर सावधानी अपनाएका थिएनन् ।

राती करिब १० बजेको समयमा ठूलो आवाजका साथ एक्कासी आएको बाढीले मुर्कुचीका १४ वर्षिय बालक आर्यन तामाङलाई बगाएर बेपत्ता पारेकोमा आज विहान त्रियुगा नगरपालिका ६ मोहनपुरमा शब फेला परेको छ । बाढीबढ्दै गएपछि गोठको खसी बाख्रा सार्दै गर्दा उनलाई बगाएको थियो । छोरोलाई बचाउने प्रयास गर्दा आमा ३५ वर्षिया सुनिता तामाङ पनि बगाएर गम्भिर घाइते भएकीछिन् । बाढीले बगाएर बाँसको झाङमा अल्झाईरहेको अवस्थामा गाउँलेले उद्धार गरी उपचारका लागि विराटनगर लगेको छ ।

बजारबासीहरु घर, सामानछाडेर सुरक्षित स्थानमा बसेकाथिए । उनीहरुको घर भित्र पानी छिरेर खाद्यान्न, लुगाफाडा, अन्य सरसामान भिज्नुका साथै नष्ट भएका छन् । घरभित्रै बालुवा र लेदो थुप्रिएका छन् ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले तत्काल एकसय थान जालीको ब्यवस्था गरी जोखिम स्थानलाई सुरक्षित गर्ने र जोखिम घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तर गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले अहिले खोलाको अवस्था सामान्य रहेपनि फेरी पनि त्यसरी जमिएर क्षती दोहोर्याउन सक्ने कुरामा सचेत गराइएको बताए ।

त्यसैगरी रौतामाई ८ डिल्लिबरकी ५० वर्षिय रणमाया मगरको पहिरोमा मृत्यु भएको छ । गएराती पहिरोले  किचेको उनको सब गोठ नजिकै पुरिएको अवस्थामा फेला परेको गाउँलेलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनको घरसमेत पहिरोले बगाएको छ । मृतक मगरसंगै पहिरोमा परेका ९ वर्षिय उनको नाती महेश मगरलाई भने घाइते अवस्थामा गाउँलेले उद्धार गरेका थिए ।

 

फोटो फिचर