सुनसरी, मंसिर २४ गते ।
सुनसरीको सीमावर्ती क्षेत्र मुसहरीमा प्रहरीको जवाफी कार्वाहीमा एक अज्ञात हतियारधारीको मृत्यु भएको छ ।
कोशी गाउँपालिका वडा नं ७ मुसहरी टोलमा आईतबार राती प्रहरीको जवाफी कार्वाहीमा अज्ञात समुहका एक जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सीमा प्रहरी चौकी भाण्टाबारीको संयुक्त गस्ती टोलीमाथि अज्ञात समुहले गोली हानेपछि जवाफी फायरमा अज्ञात समुहको अन्दाजी ३५ वर्षीय युवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राती ४÷५ जनाको अज्ञात समुह भारतबाट नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा उक्त समूहले प्रहरीलाई गोली हानेपछि आत्मरक्षाको लागि जवाफी फायर गर्दा अज्ञात एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट लोड गरिएको २ थान कटुवा पेस्तोल र मृतकको साथबाट ५ वटा गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पहिचान खुल्न नसकेको शवलाई पोष्टमार्टमको लागी बि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनाको अनुसन्धान र फरार व्यक्तिहरुको खोजतलास भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।