Sunday, June 28News That Matters

जाजरकोटमा बर्ड फ्लु फेला

पूर्णपुष्टि, फागुन २६ 

जाजरकोटको भेरीमा बर्ड फ्यू देखा परेको छ । भेरी नगरपालिका–३ सियाँलाको किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखा परेको हो ।

कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ ।

योसँगै माघयता नेपालमा पाँच पटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुई पटक र ७ नम्बर वडामा एक पटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक पटक बर्ड फ्लु देखिएको थियो ।

बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाईएको छ । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट गएको जनाएको छ ।

बर्ड फ्लु देखिएको क्षेत्रका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३ सय ब्वायलर कुखुरा, ३ सय ३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ केजी दाना, २ सय वटा अण्डाको केटसमेत नष्ट गरिएको जनाएको छ ।

यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।