
पूर्णपुष्टि/उदयपुर, साउन २९ गते ।
जिल्ला समन्वय समिति उदयपुरले वर्ष दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । कार्यभार सम्हालेको वर्षदिनमा मंगलबार पत्रकार सम्मेलन गरी प्रगति सार्वजनिक गरेको हो ।
कार्यक्रममा समितिका प्रमुख खड्गबहादुर परियारले समन्वय समिति कार्यान्वयनमा आएपछि विभिन्न योजना अनुगमनका लागि छुट्टाछुट्टै अनुगमन समिति गठन गरिएको, जनप्रतिनिधि एवम् जनप्रतिनिधिका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको जनाइएको छ । नदीजन्य पदार्थ उत्खनन, संकलन र विक्री वितरण सम्बन्धमा सवै स्थानीय तहहरुबीच समन्वय र जिल्लाका विषयगत कार्यालयहरुसँग समन्वय गरी जिल्लाका विभिन्न विकास निर्माणका कार्य तथा विभिन्न समस्याहरु समाधान गर्न समन्वय गरिएको जनाइएको छ ।
समितिले विभिन्न शिर्षकमा ५ करोड १ लाख ८५ हजार ३९ रुपिँया राजस्व, कर, दस्तुर संकलन भएको जानकारी दिइएको छ । त्यसैगरी भारतीय राजदूतावासको सहयोगमा नारद आदर्श मावि बसाहा भवन निर्माणसमेत गरेको प्रमुख दर्नालले बताए । विज्ञप्तीमा सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिका २, ५, ६ र ७, चौदण्डीगढी नगरपालिकाको ३ र ८, त्रियुगा नगरपालिकाको ८ र १५, कटारी नगरपालिकाको ५ र ७, उदयपुरगढी गाउँपालिकाको १, ६ र ८, रौतामाई गाउँपालिकाको ४, ५ र ६ कार्यक्षेत्रमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि सुरक्षित रोजगार सम्बन्धी सूचना प्रवाह र जोखिम र ठगीमा परेकालाई उद्धार/खोजतलास र प्रमाण जुटाउन सहयोग गरी कानूनी उपचारमा सहयोग गरिएको जनाइएको छ ।
प्रमुख दर्नालले केन्दीय सरकारबाट यस वर्षको लागि समन्वय समितिमा विभिन्न कार्यक्रम आएपनि अहिलेसम्म अख्तियारी नआएको बताए ।