Sunday, March 16News That Matters

झडपपछि महोत्सव बन्द

पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको पहिलो प्रदेश महोत्सव झडपका कारण शुक्रबार बन्द भएको छ ।

होलीका दिनसमेत परेको शुक्रबार दिउसो ३ बजेबाट टिकट काटेको आयोजकले पछि महोत्सव नचल्ने भनेपछि टिकट काट्ने सर्बसाधारणले टिकटको पैसा फिर्ता माग्ने क्रममा झडप भएपछि महोत्सव बन्द भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार टिकट काटेकाहरुले महोत्सव नचल्ने भएपछि पैसा फिर्ता हुनुपर्ने माग गर्दा आयोजकले अटेर गरेपछि झडपको स्थिति सिर्जना भएको थियो ।

आयोजक र उनीहरुबीच हात हालाहालको अवस्था भएपछि भागदौड, होहल्ला मच्चिकएको थियो । महोत्सव स्थलमा खटेका एक सेक्रेटरी गार्डका अनुसार झडपपछि आयोजकले तीस/चालिस जनाको टिकट पैसा फिर्ता गरेको थियो भने कतिपय त्यतिकै भागदौडमा परेका थिए ।

महोत्सव चल्ने/नचल्ने बारेमा आयोजकले प्रष्टसंग सूचना नगरेकाले विभिन्न परिकार बनाएर स्टलमा बसेकाहरु र महोत्सव स्थल पुगेका केही सर्बसाधारणहरु गुनासो गर्दै फर्किएका थिए ।