
पूर्णपुष्टि, कात्तिक १७
नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ ।
फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १ सय ५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो ।
तर कोरोना महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेको जनाईएको छ । ठकुरीले दशैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९ः४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेको थियो ।
उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएको जनाएको छ ।
काठमाडौंमा जन्मिएका ठकुरी २ दशक पहिला अमेरिका गएको थियो । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।
