
साउन १२ गते ।
चोरी सिकारी शुन्य भएपनि विश्वकै दुर्लभ मानिने एकसिंगे गैंडा प्राकृतिक मृत्यु तिब्ररुपमा भएको छ ।
गत आर्थिक वर्षमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरी अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ प्रतिशत बढी गैँडा मगरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङकले देखाएको हो ।
आर्थिक वर्ष २०७४÷०७५ मा २६ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए भने आर्थिक वर्ष २०७५÷०७६ मा बढेर गैँडाको मृत्यु ४३ पुगेको तथ्याङ्कले देखाएको छ । वर्षेनी गैँडाको मृत्युदर बढ्नुको कारण प्राकृतिक देखिएपनि अस्वाभाविक रुपले मर्नुमा सवैलाई आश्चर्य लाग्दो र निकुञ्ज प्रति प्रश्न उठेको छ ।
गैंडाहरु जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले आक्रमण गरेर मर्ने गरेका छन् । होटलको सेफ्टी ट्यांकीमा खसेरसमेत गैंडा मरेका छन् । तर, गत वर्ष मरेका ४३ गैंडामध्ये २३ वटाको मृत्युको कारण अझै थाहा हुन नसकेको निकुञ्जले जनाएको छ ।
तीन वर्षयता चोरी शिकारीबाट कुनै गैँडा मरेको छैन । २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैंडा मारेका थिए । त्यसपछि तस्करले कुनै गैँडा नमारेको निकुन्जले जनाएको छ । अश्वभाविक रुपले गैँडा मर्नुले बास्थानमा समेत प्रश्न उठ्न थालेको छ भने संरक्षणकर्मीहरु चिन्तित बनेका छन् । गैँडाको मृत्यु प्रति अनुसन्धान भईरहेको निकुञ्जले जनाएको छ ।
बुढो भएर ५ वटा, जुधेर ७ वटा, संक्रमण भएर २ वटा, बाघको आक्रमणमा १ वटा, गोहीको आक्रमणमा १ वटा, सेफ्टी ट्यांकीमा खसेर १ वटा, करेन्ट लागेर १ वटा, ग्याविन तारमा परेर १ वटा, खाल्डोमा परेर १ वटा गैंडा मरेका थियो । त्यसमा भाले ९ वटा, पोथी १४ वटा र लिङ्ग नखुलेको २० गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङकमा उल्लेख गरिएको छ । मरेको गैँडाहर मध्ये ३४ वटा निकुञ्जको कोर क्षेत्रमा, ७ मध्यवर्ती र २ राष्ट्रिय वन क्षेत्रमा मरेको फेला परेको थियो । बढी कात्तिक र फागुनमा ८/८ वटा गैंडा मरेको तथ्यांकले देखाएको छ ।
हरेक ४/४ वर्षमा गैँडा गणना गरिन्छ । २०७१ सालमा पर्सादेखि शुक्लाफाँटसम्मको चार वटा निकुञ्जमा गरिएको गैँडा गणनामा जम्मा ६ सय ४५ वटा गैँडा भेटिएको मध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ वटा गैडा पाईएको थियो ।