एजेन्सी –अमेरिकी तीन वैज्ञानिक जेफरी हल, माइकल रोबास र माइकल योङले यसबर्षको चिकित्सातर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।
ती तीन वैज्ञानिकले फलफूलका झिंगाको ‘अग्र्यानिज्म’लाई नमूना बनाएर मानव शरीरको जैविक घडीको लय नियन्त्रण गर्ने वंशाणुमाथि गरेको अनुसन्धानका लागि पुरस्कार दिइएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समितिका अनुसार उनीहरूले फलफूलमा लाग्ने झिंगाको जैविक क्रियाकलापलाई नमुना बनाएर हाम्रो शरीरको दैनिक जैविक घडी वा लय नियन्त्रण गर्ने वंशाणु (जिन) पहिल्याउन सफल भएका छन्।
अनुसन्धानमा जैविक घडी नियन्त्रण गर्ने वंशाणुमा रहेको प्रोटिन राति कोषमा संग्रह हुने र दिउँसो घट्ने पत्ता लागेको थियो। सबै वनस्पति तथा प्राणीमा हुने ‘सर्काडियन रिद्म’ जसलाई जैविक घडी पनि भनिन्छ, ले सबैको सुत्ने, बानी व्यहोरा, हर्मोन स्तर, शरीरको तापक्रम र पाचन क्रियामा प्रभाव पर्छ।
बर्सेनि नोबेल पुरस्कार घोषणा हुँदा सबैभन्दा पहिले चिकित्सातर्फको पुरस्कार घोषणा हुने गर्छ । यसपछि भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्रतर्फका पुरस्कार घोषणा गरिनेछ। नोबेल पुरस्कारको रकम ११ लाख अमेरिकी डलर छ ।