Sunday, February 16News That Matters

तेस्रो दिनमा ब्वाईज युनियनको जीत/नारदमुनी गोल्डकप

पूर्णपुष्टि, कात्तिक १९ गते ।

बसाहा- उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको सनिबार भएको खेलमा ब्वाईज युनियन काठमाडौंले सप्तरी ११ लाई १ को विरुद्ध ५ गोल गर्दै जीत हात पारेको छ ।

बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको तेस्रो दिनको खेलको पहिलो हाफ १÷१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफमा एकलौटी रुपमा ब्वाईज युनियनले ४ गोल थपेर फराकिलो जीत गरेको हो ।

खेल सुरु भएको ३ मिनेटमै सप्तरीका सुशिल यादवले गोल गरेर पहिलो खाता खोलेका थिए । निकै लामो प्रयासपछि खेलको २५ औं मिनेटमा ब्वाईज युनियनका विदेशी खेलाडी मेडोले गोल फर्काई पहिलो हाफलाई बराबरीमा टुंग्याएका थिए ।

दोस्रो हाफपछिको खेलमा ५८ औं मिनेटमा ब्वाइज युनियनका सौजन राईले गोल गरेका थिए । ६१ औ मिनेटमा आशिस थापाले गोल गरेका थिए भने विदेशी खेलाडी नेडाले ६८ औं मिनेटमा अर्को गोल थपेका थिए । खेलको अन्तिम समय ७५ औं मिनेटमा सनमले गोल गरेपछि फराकिलो जीत भएको हो ।

खेलको म्यान अफ दि म्याच ब्वाईज युनियनका जर्सी नम्बर १६ का सौजन घोषित भई नगद ३ हजारसहित पुरस्कृत भए । भोलीको खेल आयोजक बसाहा क्लव र रुपन्देही ११ बीच हुने आयोजकले जनाएको छ ।