Monday, February 17News That Matters

त्रियुगा पुल जोगाउन रातारात काम, सिडियो र एसपी खटिए

उदयपुर, साउन १ गते ।

उदयपुर सदरमुकामको त्रियुगा पुल बचाउन रातरात काम भईरहेको छ । पुल जोखिममा देखिएपछि बुधबार राती प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर नै खटिएर काम गराएका छन् ।

प्रजिअ खड्काले त्रियुगाको पुल क्षती भएको खण्डमा सदरमुकाम मात्र नभई सिंगो पहाडी क्षेत्रको आवतजावत तथा सामान ढुवानीको बाटो नै बन्द हुने भएकाले जोगाउने कार्यमा तदारुक्दा देखाइएको बताए । “पुलमा क्षती भएको खण्डमा ठूलै समस्या ब्यहोर्नु पर्ने हुन्छ” उनले भने “त्यसैले विशेष चासो दिनु परेको हो ।”

त्रियुगाको बाढी पुलको उत्तरी पिलरमा मात्र ढल्केपछि पुल जोखिममा परेको छ । बाढीले खोतल्दै जाँदा पुलको खम्बा कमजोर बन्ने अवस्था छ । बाढीको बहाव दुबैतिर फैलाइ पुलमा क्षती कम गराउन जेसीबीले खनेर पानीको वहाव मिलाउने काम भईरहेको हो । त्रियुगा नगरपालिका र सडक कार्यालयबाट गरी दुईवटा जेसिबी प्रयोगमा छन् ।

केही दिनदेखिको अवीरल बर्षाले आएको बाढीले पुलमा क्षती पुर्याउदै गएको हो । पुललाई क्षतीबाट बचाउने कुरामा नगरपालिका र सडकको जेसिबी प्रयोग गरिएको हो । जेसिबीको प्रयोग र खटाइ प्रभावकारी नभएको गुनासो आएपछि प्रजिअ खड्का र एसपी मगर स्वयम् गएर खटिएका हुन् । बत्ती बालेर जेसिबीले बगरमा बालुवा पन्छाउदै पानीको धार मिलाउने काम गरिरहेको छ । बुधबार राती नै त्रियुगाको केही पानीको वहाव दक्षिणतर्फ फर्काउने र उत्तरतर्फको क्षतीलाई कम गराउने प्रयास गरिएको एसपी मगरले बताए ।

पुलको माथिल्लो भागको पश्चिमी खण्डको आधा भागमा डोरी नै टाँगेर सवारी साधन गुड्न बन्देज लगाईएको छ । सडक कार्यलयले पुलको क्षतीग्रस्त भाग भन्ने ब्यानर नै टासेको छ । त्रियुगा पुल जोगाउने कुरामा सबैले चासो दिनुपर्ने प्रजिअ खड्काले बताए ।