Sunday, March 16News That Matters

दिक्तेल–भोजपुर सिधा यातायात सुचारु

केदार मगर/खोटाङ, मंसीर १९ गते ।

खोटाङको सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा सुचारु गरिएको छ । वर्षाद्को पानीले सडक खण्डमा पारेको खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुचारु गरिएको हो ।

करिब ९१ किलोमिटर लम्बाई रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ : १५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताउनुभयो । गत वर्षदेखि सिधा यातायात सुरु भएको खोटाङ र भोजपुरमा देउरालीबाट पनि सोही समयमा बस छुट्ने व्यवस्था मिलाइएको छ ।

हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने यस सडक खण्डमा यसअघि यस वर्ष चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । सिधा यातायात सञ्चालन भएपछि भोजपुर पुग्नका लागि चखेवाभञ्ज्याङबाट अर्को बस परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ ।

मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक सडक खण्डमा कालोपत्रेको काम पनि तीब्र गतिमा भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङवाल भर्ने, पुल निर्माण गर्ने, गिटीढुङ्गा फोर्ने लगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिनुभयो ।

करिब ४६ किलोमिटर लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रेको काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्रे सम्पन्न हुने जनाइएको छ ।