Tuesday, June 23News That Matters

दिल्लीबाट धुलोसहितको वायु नेपाल प्रवेश

पूर्णपुष्टि, चैत १८ 

आज नेपालको  वायुमण्डलमा केही सुधार आएसँगै काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ‘भिजिबिलिटी’ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भिजिबिलिटी बढेसँगै हवाई उडान–अवतरणमा सहज हुनेछ । तर, वायुमण्डलमा आज केही  सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज नेपालको वायुमण्डलमा केही सुधार देखिएको पनि भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेको जनाएको छ ।

अहिले यसको असर पश्चिमी र पूर्वी क्षेत्रमा देखिन थालिसकेको छ ।  भोलि फेरि देशभर तुवाँलो बढ्ने सम्भावना रहेको जनाएको छ ।

अहिले पूर्वमा इलाम र रौतहटसम्म नै तुवाँलो बढेको छ । बिस्तारै यो तुवाँलो देशका अरु ठाउँमा पनि सर्दै जाने र यसको असर भोलि देखिने छ । जमिन भिज्ने गरी पानी परे वा हावा चले प्रदूषण हट्ने भए पनि आज, भोलि र पर्सि हावा चल्ने र पानी पर्ने सम्भावना नरहेको जनाएको छ ।

तल्लो वायुमण्डल र जमिनको सतह नजिक फेरि धुलोसहित प्रदूषण थुप्रिने सम्भावना तीन दिनसम्म रहेको जनाएको छ । तीन दिनपछि भने केही सुधार हुन सक्ने अनुमान गरिए पनि ढुक्क हुने अवस्था भने नरहने महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभाव परेपछि मौसममा सुधार हुन्छ । आज प्रदेश १, वाग्मती र गण्डकी तथा लुम्बिनी प्रदेशका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ । दिउँसो पछि यी क्षेत्रमा मेघ गर्जनसहित चट्याङ पर्ने महाशाखाले जनाएको छ ।