
उदयपुर, वैशाख ३ गते ।
उदयपुरको चौदण्डिगढी र खोटाङको बाराहा जोड्ने सडकको शिलान्यास गरिएको छ ।
चौदण्डीगढी नगरपालिका ९ को अमिलिखर्क देखि खोटाङको बाराहा गाउँपालिका जोडिने सडकको मंगलबार प्रदेश सांसद विमल कार्कीले सिलान्यास गरेको हो ।
प्रदेश सरकारको वहुबर्षिय योजना अन्तरगत पहिलो बर्षको काम सुरु गरिएको हो । ७ मिटर चौडाई र ४२ किलोमिटर लामो उक्त सडकको पहिलो बर्ष चालु आर्थिक बर्षमा करिव ५ किलोमिटर काम सम्पन्न गरिने पुर्वाधार विकास कार्यालयका प्रमुख (डिई) जितेन्द्रकुमार कर्णले बताए ।
पहिलो वर्षमा ५ किलोमिटर काम भएका सडकको बाँकी काम तीन बर्ष भित्र सम्पन्न गर्ने गरी काम गर्ने डिई कर्णले बताए । प्रदेशको नयाँ संरचना, अख्तियारीमा ढिलाई, केहि काममै अवरोधका कारणेले ढिला भएकाले अवको दिनमा सहजता ल्याउनु पर्ने डिई कर्णले बताए ।
दुई सरकार विचको विवादले गर्दा थोरै समय भएकाले यस बर्ष ९१ लाख ७५ हजार ७ सय २२ रुपिँया ३२ पैसा बराबरको काम हुने डिई कर्णले बताए ।
सडक २०७६ असार १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी पुर्वाधार कार्यालयले ०७५ चैत्र २० गते स्वामि नारायण/राउत जेवीसँग सम्झौता गरेको छ । प्रदेश सरकारले आगामी बर्ष २ नम्बर प्रदेशअन्र्तगतको सप्तरी जिल्लाको महुली (अन्तरप्रदेश) जोड्ने गरी यो सडक महत्वका साथ निर्माणको योजना अघि सारेको प्रदेश सांसद कार्कीले बताए ।
चौदण्डीगढी नगरपालिकाको अमिलिखर्क–हडिया–ज्यामीरे–सातधारे–बेल्टार–साउने–धाप्लाङ हुँदै खोटाङ जिल्ला जोडिने सांसद कार्कीले बताए ।प्रदेश सरकारले चालु आर्थिक बर्षमा खर्च गर्ने गरी दुई करोड रूपिँया वजेट विनियोजन गरेको थियो । तर समयमा अख्तियारी आईनपुगेको र सर्वेकाक्रममा केहि विवाद सृजना हुँदा वजेट खर्चमा समस्या परेको हो ।
सडकलाई दुई बर्षभित्र सबै कार्य सकि तेस्रो बर्षमा कालोपत्रे गर्ने लक्ष्य रहेको सांसद कार्कीले बताए । उनले सडक निर्माणसँगै उदयपुर, खोटाङ र सप्तरी जिल्लाका स्थानीयलाई राहत पुग्ने बताए ।
प्रदेश सरकारले खोटाङको विभिन्न गाउँपालिकाका सर्वसाधारणलाई उदयपुर हुदैँ तराईका जिल्लामा आवतजावत गर्न सहज हुने हेतुले सडकको योजना अघि सारेको सांसद कार्कीले बताए । निर्वाचन क्षेत्र जोडिएका जिल्लामा प्रदेश सरकारले अन्तर जिल्ला र अन्तर प्रदेश जोडने सडकलाई प्राथामिकतामा राखेर योजनाअघि सारेको उनले बताए ।