
पाँचथर, जेष्ठ ७ गते ।
पाँचथरको आरुबोटेमा सोमबार राती दुई परिवारका नौ जनाको हत्या भएको छ । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटे निबासी बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनाको हत्या भएको हो ।
घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार राती फियाक र शेर्माका परिवारको धारीलो हतियार प्रहार गरि हत्या गरेको जनाएको छ । शेर्मा परिवारका पाँच जनाको हत्या गरि शव घर भित्रै रहेको र फियाक परिवारको चार जनाको हत्यापछि घरभित्र तथा बाहिर छरपस्ट अवस्था भेटिएको गुरुङले बताईन् ।
४१ वर्षीय धनराज शेर्मा, ३६ वर्षीया जस्मिता फियाक, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, २६ वर्षीया मनकुमारी फियाक, १२ वर्षीया आशिका खजुम लिम्बू र नाम नखुलेकी बमबहादुरको श्रीमतीको हत्या भएको छ ।
घाईते भएकी १२ वर्षीया सीता खजुम लिम्बु भागेर बाँच्न सफल भएकी छन् । राती घटेको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते लिम्बुका अनुसार मुखुण्डो लगाएर आएका समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
घटना स्थलमा पुगेका पुगेका प्रहरीले दुई परिवारका नौ जनाको हत्या भएको पुष्टि गरेको छ ।