
साउन १२ गते ।
दुर्गम जिल्ला जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा दिने भएको छ । दुर्गम पहाडी क्षेत्रका गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो सेवा प्रवाह गर्न लागेको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भए अनुसार जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
लामो समयसम्म बेथा लागी बच्च जन्माउन नसक्ने भएमा तत्काल कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको छ । रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सकिने जिल्ला प्रशासनले जनाएको छ ।
ग्रामीण क्षेत्रमा सुत्केरी तथा गर्भवती महिलाले उपचारको अभावमा ज्यान समेत जान सक्ने भएकाले समस्याको परेको खवर आउना साथ उद्धार गर्न सकिने अवस्था छ । हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुखसहित दुई स्वास्थ्यकर्मीको सिफारिसपत्र मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ ।
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । यस कार्यक्रमलाई लक्षित गर्दै प्रत्येक वडामा हेलिप्याड बनेको छ ।
गर्भवती र ठूलो विपद्को उद्धारका लागि हेलिप्याड निकै प्रभावकारी हुने आशा लिएको छ । दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, पूर्वीरुकुम, रुकुमपश्चिम, सल्यान र रसुवा जिल्लामा हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएको छ । यसैगरी सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ जिल्लामा आंशिकरूपमा लागू भएको हो ।