Friday, February 7News That Matters

द.कोरियामा संकलित रकम बोनम्यारो पिडित शान्तिलाई हस्तान्तरण

उदयपुर, फागुन २६ गते

उदयपुरको त्रियुगा नगरपालिका ११ बोक्से (नयाँबस्ती) की बोनम्यारो पिडित शान्ति राईलाई दक्षिण कोरियामा संकलन भएको सहयोग रकम आइतबार हस्तान्तरण गरिएको छ ।

कोरियामा कार्यरत उदयपुरका युवाहरु सन्जिब राई, निश्चल बान्तवा (मनोज) र गोपीकृष्ण राईको अगुवाईमा संकलित सहयोग रकम २ लाख ३३ हजार ६ सय २ रुपैया एक कार्यक्रमकाबीच मिडियामार्फत हस्तान्तरण गरिएको हो । शान्ति राई बचाउ अभियान समितिको पदाधिकारीहरुको रोहबरमा शान्तिकी बुवा डिगबहादुर र आमा रामकुमारी राईलाई मिडियाको तर्फबाट नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राईले हस्तान्तरण गर्नुभयो । शान्ति उपचारको क्रममा काठमाडौं रहेकीले उनको बुवाआमालाई रकम हस्तान्तरण गरिएको हो । योसंग शान्तिलाई २६ लाखको हाराहारीमा सहयोग रकम जुटेको शान्ति राई बचाउँ अभियान समितिका अध्यक्ष ज्ञान राईले बताउनुभयो ।

अस्पतालमा हुनुपर्ने विरामी शान्ति, घरको नाजुक अवस्थाका कारण घरमै बसिरहेको अवस्थामा मिडियाले खबर प्रकाशन÷प्रशारणका साथै उनको अवस्थाको बारेमा भिडियो सार्बजनिक गरेको थियो । सबैभन्दा पहिले खबर प्रशारण गर्ने एभिन्यूज खबर टेलिभिजन तथा सुरुदेखि हालसम्म भिडियो प्रशारण तथा फलोअपमा रहेका पूर्णपुष्टि, तुवाचुङ, निगरानीपोष्ट, ट्रेन्डिङडोज, इलाकापोष्ट, पूर्वेलीदर्पण, नागरिकबहस, सिके अनलाईनटिभि लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

निको भएर राम्रो शिक्षिका बन्ने सपना बोकेकी शान्तिको बोनम्यारो नै फेर्नुपर्ने अवस्था छ । भारतमा बोनम्यारो फेर्नका लागि २५ लाख रुपैया लाग्ने र अन्य थप १५ लाखबढि खर्च आवश्यक पर्ने परिवारको अनुमान छ । शान्तिलाई सहयोग रकम जुट्ने क्रम जारी रहेको समितिले जनाएको छ ।