
पूर्णपुष्टि, चैत ९
पोखरामा नक्कली सहायक सेनानी पक्राउ परेको छ । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने एक युवा पक्राउ गरेको हो ।
नक्कली कागजात बनाएर निर्माणाधीन विमानस्थल प्रवेश गर्ने मुस्ताङको थासाङ गाउँपालिका ४ निबासी १८ वर्षिय तेञ्जिङ गुरुङ भनिने विपिन विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

नेपाली सेनाको सहायक सेनानी बताएर परिचयपत्र सहित विमानस्थलको प्रवेशद्वारबाट प्रवेश गरेका विकले शंकास्पद व्यवहार गर्न थालेपछि त्यहाँ खटिएको टोलीले चेकजाँच गर्दा नक्कली सहायक सेनानी भएको पत्ता लगेको प्रहरीले जनाएको छ ।
विकलाई नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिह्न पोशाक, बुट, श्री भगवती दल गण पोखरा लेखिएको परिचय पत्र १ थान र नक्कली वाकीटकी रेडियो सेट १ थान सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अदालतबाट म्याद थप गरी उनलाई लिखत सम्बन्धी कसुरमा अनुसन्धान जारी राखेको जनाएको छ ।
