Monday, June 22News That Matters

नक्कली स्टिकर टाँस गरी औषधी बिक्री गर्ने पसल सञ्चालकसहित २ जना पक्राउ

पूर्णपुष्टि,वैशाख २६

सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी पसल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका सञ्चालक विराटनगर–१० अशोक चोक का २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर–१६ रानी का २३ वर्षीय श्रवण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले सञ्चालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी)  र रेमडेसिभर नामक औषधी १ बट्टा (सिसी) फेला पारेको हो । आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि रेमडेसिभर औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ ।

उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो । सो क्रियाकलापमा संलग्न अर्का यादव भने यस अघी २०७७ साल कार्तिक २५ गते विराटनगर–११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई विराटनगर–१६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।