
पूर्णपुष्टि, जेठ ३१ ।
संसदबाट नेपालको नयाँ नक्सा सर्बसम्मत पास भएपछि देशैभर खुसियाली छाएको छ । नेपालको नयाँनक्सा जारी भएको खुसियालीमा नेपालीहरुले देशैभर दिपावली गरेर खुसियाली मनाएका छन् ।
यसैक्रममा उदयपुरमा पनि नयाँनक्साको तस्बिर बनाउदै दिपावली गरेर खुसियाली मनाइएको छ । युवा विद्यार्थीहरुले गाईघाटको लोकतान्त्रिक चौमा आयोजना गरेको दिपावली कार्यक्रममा नागरिकहरुको स्वतस्फूर्त उपस्थिति रह्यो । मैनबत्ती बालेर नागरिकहरुले दिपावली मनाए । पिपलचौकमा सिमेन्टको भईमा सेतो पेन्टिङ गरेर नेपालको नयाँनक्सा र नयाँ निसान छाप बनाइएको थियो । त्यहि नक्सामाथि दिप प्रज्वलन गर्दै खुसियाली मनाइएकोछ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँनक्सा जारी भएको उपलब्क्षमा दिप प्रज्वलन गरिए पछि देशमा खुसियालीको तरंग छाएको नागरिकहरुको प्रतिक्रिया छ । उनीहरुले अव नक्सामा मात्र हैन, भुगोल नै नेपालभित्र पार्न सक्नुपर्ने भन्दै त्यसका लागि सरकारलाई हातमा हात, साथमा साथ दिने बताए ।
गाईघाटको बिपिचौकमा पनि युवाहरुको समुहले दीप प्रज्वलन गरेर नयाँ नक्सा जारी भएको खुसियाली मनाए । चौकमा भुईमा अबिरले नयाँ नेपालको नक्सा बनाई त्यसमाथि दिपावली गरेका थिए ।

त्यसैगरी जिल्लाकाे कटारी, बेल्टार लगायतका मुख्य बजारहरू र जिल्लाकाे पालिकाहरूमा पनि भब्यरूपले दिप प्रज्वलन गरी नयाँ नक्सा जारी गरेकाेमा खुसियाली मनाइएकाे थियाे ।

आज संसदमा उपस्थित २५८ जना सांसदहरुले नयाँ नक्सा जारी गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिएका थिए । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पास भएको घोषणा गर्नुभएपछि देशभर खुसियाली र दिपावली मनाउन थालिएको थियो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राजपाका नेता राजेन्द्र महतो, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको नयाँ नक्सा र भुगोलप्रति गम्भिरता देखाउदै बोलेका थिए । सांसदहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन अव गम्भिर पहल गर्नुपर्ने बताएका छन् ।
सरकारले नयाँ नक्सा गत जेठ ५ गते गरेको थियो भने ७ गते औपचारिकरुपमा सार्बजनिक गरेको थियो । नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

दिप प्रज्वलन कार्यक्रमले उदयपुरले नागरिकहरूलाइ देशकाे स्वभिमानप्रति गम्भिर पार्दै अव भारतले मिचेका भुगाेल फर्काउनमा एकजुट हुने सन्देश प्रवाह गरेकाे छ ।
