Friday, May 22News That Matters

नयाँ फ्लू भाइरस फेला पर्यो, विश्वव्यापी महामारी फैलन सक्ने

पूर्णपुष्टि, असार १६

विश्वव्यापी महामारी बनेर फैलिन सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।

बैज्ञानीकहरुको अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन् । तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनु पर्ने जनाईएको छ ।

उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ । प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेको छ ।

यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो छ । तर यसमा केही भिन्नताहरू पनि भएको जनाईएको छ । यो अहिले फैलिएको त छैन तर यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन–चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यसलाई निगरानीमा राख्नुपर्ने बताएको संचारमाध्यमहरुले जनाएको छ ।

अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई G4 EA H1N1 भन्ने गरेका छन् । उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ ।

उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन् । अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन् ।