Tuesday, July 14News That Matters

नशालु पदार्थ खुवाई लुटपाट गर्ने ४ जना पक्राउ

पूर्णपुष्टि, फागुन २० गते । 

गोरखाको विभिन्न ठाउँबाट घरधनीलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २५, २६ र फागुन ८ गते जिल्लाका विभिन्न ठाउँमा चोरीमा संलग्न चार जनालाई कावासोती नगरपालिका–३ सङ्गम चोकबाट प्रहरीको पक्राउ गरेको हो ।

गोरखाको बारपाक घर भइ हाल चितवनको रत्ननगर नगरपालिका–४ बस्ने ४६ वर्षीय प्रकाश गुरुङ, उदयपुरका ५३ वर्षीय अमृत राना, बारा निजगढ गाउँपालिका–७ निबासी ३८ वर्षीय कृष्ण विक र सुनसरीको इटहरी नगरपालिका–४ निबासी ४५ वर्षीय प्रदीप चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उक्त समूहले गत माघ २५ गते गोरखा नगरपालिका–५ नाङलेपानीकी भुवानी आचार्यको घरबाट सुनको रिङ, तिलहरी, मोबाइल र नगद ४० हजार रुपैयाँ लुटेका थिए । यस्तै माघ २६ गते हरमटारीकी सन्तुमाया रम्तेलको रिङ, ढुङ्ग्री र १२ सय रुपैयाँ र गत फागुन ८ गते शहीद लखन गाउँपालिका–८ नाम्जुङकी जमुना बरामको कानमा लगाउने रिङ दुई थान, तिलहरी दुई थान र सुनको टिका एक थान लुटेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुले नशालु पदार्थ मिसाएको पेयपदार्थ खुवाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई डाँका चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।