
विक्रम राई
उदयपुर/ माघ, ५
उदयपुरको रौतामाई गाउँपालिका वडा नं ४ र ६ निगाले गाउँका कृषकहरु अहिले सुन्तालाखेती तर्फ आकर्षित बनेका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हात पार्न थालेका कारण कृषकहरु त्यसतर्फ आकर्षित बनेका हुन् ।
उतिवेला बाजे पुर्खाहरुले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुईचार झ्याङ सुन्तला अहिले जिविकोपार्जनमा परिणत भएको कृषक जीवन राईले बताउनुभयो । कृषक राईका अनुसार एतिवेला पुरानो बोटबाट आम्दानी लिन र अन्य विरुवाहरु लगाउने क्रम बढ्दो छ । एकैघरमा ५ सय ओटा भन्दा बढी सुन्तालाको विरुवा व्यवस्थित तरिकाले खेती योग्य जमिनहरुमा लागाईदै आएको कृषकहरुले बताए । गाउँमा यातायात पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुराउन सकिने भएको हुदा सुन्तलाको राम्रो आम्दानी कृषकले पाएका छन् । एकमुष्ट पैसा लिन सकिने र राम्रो आम्दानीबाट घरको धेरै समस्या हल गर्न सकिने भएपछि गाउँमा सुन्तालको आकर्षण ह्वात्तै बढेको हो ।
आधिकारिकरुपमा मूल्यांकन नभएको भएपनि निगालेको सुन्ताला अहिले गाईघाटमा १ करोड भन्दा बढीको भित्रिने अनुमान गरिएको सुन्ताला कृषक रामकुमार राईले बताउनुभयो । एकै घरबाट बर्षिक ५ देखि ६ लाखसम्म सुन्ताला बिक्रि हुन थालेपछि सुन्तालामा गाउँनै लागि परेको उहाँले बताउनुभयो । राईले आफैले पनि बार्षिक ५ देखी ६ लाखसम्म आम्दानी लिने गरेको बताएको छ । पहिले असुविधाका कारण सुन्तालाले थोरै आम्दानी दिने गरेको भन्दै खेतीपाती र बाहिर कमाउन जाने गरेको बताउने राई अहिले सुन्तालाबाट घरमै बसेर पारिवारिक गुजारा टार्न सफल हुनु भएको छ । राईले कम मेहनतमा बालीनाली भन्दा सुन्तालाले दोब्बर फाईदा दिने अनुभव सुनाउनु भयो ।
गाउँमा सुन्तला नै नभएको घरहरुमा पनि अहिले विरुवा लगाउने क्रम बढेको छ भने हुनेहरुले झनै थप गरेर बारी नै भरी–भराउ गर्न थालेको कृषक सविन राईले बताउनुभयो । एकपटक लागाएको सुन्तालाले जिवनभरी आम्दानी दिने तर बर्षै पिच्छे लगाएको वालीले खानै नपुग्ने कुरा कृषकहरुले अनुभव गरेसँगै सुन्तालामा आकर्षण बढेको उहाँले बताउनुभयो ।
घरैपिच्छे सुन्ताला रोप्ने अभियानले गाउँमा विरुवासमेत पाउन समस्या परेको उहाँको भनाई छ । निगाले ठुलोवस्ती तर कम जमिन भएको ठाउँ पनि हो, यहाँ आर्थिक आम्दानीको लागि वैदेशीक रोजगार, जागीर या त मजदुर गरेर जिविकोपार्जन गर्दै आएका मानिसहरुले अहिले जिविकोपार्जनको पहिलो माध्यम सुन्तालाखेतीलाई रोजेका छन् ।
उनीहरुले अन्य पेसा गर्दै भएपनि सुन्तालामा भने ठुलो समयको लगानी गर्दै आएका छन् । अन्य काम सँगै सुन्तालाको बिषेश हेरचारमा त्यहाँका कृषकहरु लागि परेका छन् । बर्षभरी लगाएको वालीनालीले ३ महिना खान नपुग्ने ठाउँमा थोरै मेहनतमा हेरचार गरेको सुन्तालाले बर्षभन्दा बढी खान पुग्ने युवा कृषक गणेश राईले बताउनुभयो । “बर्षभरीको खेतीपातीले ३ महिना पुग्दैन तर एउटा सुन्तालाको झ्याङबाट १० हजारसम्म पैसा लिन सकिन्छ” उहाँले भन्नुभयो “सुन्तालाखेतीबाट सहजै जिविकोपार्जन गर्न सकिरहेका छौं ।” आफुले पनि अहिले खेती योग्य सबै जमिनहरुमा करिब ५ सय बोट सुन्ताला लगाई सकेको बताउनु हुने उहाँले करिब २ सय ओटा बोटले भने आम्दानी दिन थालेको बताउनुभयो । यस पटक मात्रै दुई लाख ५० हजार बराबरको सुन्ताला बिक्रि गरेको उहाँले बताउनुभयो ।
जिल्लाको सुन्ताला जोन क्षेत्रभित्र पर्ने सो ठाउँमा सुन्तलाखेतीका कारण विदेशबाट फर्किनेहरुले कमाईला लागि फेरी विदेश सम्झनु परेको छैन । ३ बर्ष विदेशमा बसेर आएका कृषक हाकिम बहादुर राईले अहिले गाउँको सुन्तालामा नै भविष्य देखेको बताउनुभयो ।
कुनै समय सुन्तालामा लाग्ने किरा, सुन्तालामा पलाउने अैँजेरु, फल झर्ने समस्या, फुल झर्ने समस्या र बिभिन्न रोगको कारण बिरुवा काट्नु पर्ने समस्याले भने आफुहरु निकै चिन्तत रहेको पनि राईले बताउनुभयो । गाउँनै सुन्तालाको बगैँचामा परिणत भैसकोको अवस्था छ । गाउँभरी कै लागि सुन्तालाको कुनै कृषि प्राविधिक भएमा आफूहरुले लागाएको सुन्तालाबाट घाटा बेहोर्नु नपर्ने राईको भनाई छ ।

