Thursday, April 30News That Matters

नेपालको आफ्नै पानीजहाज सञ्चालन गरिने

मंसिर ११ गते । 

चर्चामा रहेको भारतसँगको जलयातायात सञ्चालनको विषय प्राविधिक स्तरमा करिब टुंगिएको छ । नेपाल र भारतबीचको पारवहन सन्धि पुनरावलोकनका लागि काठमाडौँमा मंगलबारदेखि सुरु द्विपक्षीय बैठकको क्रममा जलयातायात सञ्चालनमा भारतीय पक्ष सकारात्मक देखिएका हुन् ।

पारवहनका रूपमा जलयातायातका लागि नेपालले तीन वटा विकल्प पाएको छ । कलकत्ताबाट वाराणासी, कालुघाट, साहेबगञ्ज हुँदै नेपालले जलयातायात सञ्चालन गर्न सक्ने विषय सह–सचिव स्तरीय बैठकले करिब टुंगो लागेको बैठकमा नेपाली टोलीका नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले बताए ।

भारतले निर्माण गरेको इनल्यान्ड वाटरवेजसम्म नेपालको पहुँचको विषयमा द्विपक्षीय बैठक अत्यन्त सकारात्मक भएको ढकालले बताए । जहाजहरू कसरी चलाउने, कसको अनुमति लिने जस्ता विषयमा पनि बैठकले स्पष्ट सहमति जुटाउने उनले बताए ।

बैठकको सहमति अनुसार नेपालले भारतको तीनवटै स्थानबाट आफ्नै झण्डासहितका पानीजहाज सञ्चालन गर्न सक्नेछ । तर जलयातायात सुरु हुने ठाउँबाट नेपालतर्फ स्थल यातायातकै प्रयोग नेपालले गर्नुपर्नेछ । जलयातायातले पारवहन खर्च करिब ५० प्रतिशत कम हुनसक्छ ।

यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।