
केदार मगर
खोटाङ– जिल्लाको सबैभन्दा पूरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीब्रगतिमा भइरहेको छ । वि.सं. २०२८ सालबाट सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखबाट सुरु गरिएको हो ।
नेपाल नागरिक उड्यन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म पैतीस प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । गत असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी रहेको छ ।
भौतिक निर्माणको काम भइरहेको विमानस्थलमा अहिले ग्याविङ वाल भर्ने, धावन मार्गमा ग्रावेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम भइरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुनाकर्मीले जानकारी दिनुभयो । “हामीले समयमै थालेर समयमै सक्नेगरी काम गरिरहेका छौं ।” उहाँले भन्नुभयो, “आगामी माघ मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने तयारीमा लागी परेका छौं ।”
लामो समयसम्म कच्ची अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । विमानस्थल कालोपत्रे गर्ने जिम्मा वाईएनएस, एसएपी र सर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लिएको हो ।
विमानस्थल कालोपत्रे थालिएसँगै गत वैशाखबाटै उडान तथा अवतरण अवरुद्ध भएको स्टेशन प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । निक्कै व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाई यातायात अवरुद्ध भएपछि सबैभन्दा बढी अस्पतालले जिल्ला बाहिर पठाएको बिरामीलाई समस्या भएको छ ।
कालोपत्रे गर्ने क्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाईसमेत असर पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलेसमेत सेवा लिँदै आएका छन् । विशेषगरी उक्त विमानस्थलले आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्याउदै आएको छ ।