
उदयपुर, चैत ४ गते
उदयपुरको कर्णाली क्षेत्र भनेर चिनिने लिम्चुङबुङ गाउँपालिकाका जनप्रतिनिधिहरुले आफुले प्रयोग गर्ने सवारी साधन खरिद गर्ने बजेटले यात्रुवाहक बस किन्ने निर्णय गरेका छन् ।
पालिकाका जनप्रतिनीधिले गाडी तथा मोटरसाईकल खरिद गर्ने बजेटले सर्बसाधारण जनताको हितलाई मध्येनजर गर्दै यात्रुवाहक बस किन्ने निर्णय गरेको हो । पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार गाउँ कार्यपालिकाको शनिबार बसेको बैंठकले जनपक्षीय निर्णय गरेको हो । विकटका जनताहरुले यातायात सेवा पाउन नसकेर सास्ती भोगिरहेको अवस्थामा जनप्रतिनिधिले गाडी चढेर हिड्नु नसुहाउने भन्दै अध्यक्षले यात्रुवाहक बस किन्न बैंठकमा राखेको प्रस्तावलाई उपाध्यक्ष, वडाध्यक्षहरु र अन्य नजप्रतिनीधिहरुले सर्बसहमत पास गरेको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताउनुभयो । जनप्रतिनीधि चढ्ने सवारी साधन खरिदको शिर्षकमा छुट्याईएको ५७ लाख ७१ हजार रुपैयाले यात्रुवाहक बस खरिद गर्ने निर्णय भएको हो । उक्त रकमबाट २ ओटासम्म बस किन्ने र विकटका जनताका लागि सेवा प्रदान गर्ने पालिकाले जनाएको छ ।
सदरमुकाम गाईघाट भन्दा करिब ७५ किलोमिटर उत्तरपश्चिम पहाडी र विकट क्षेत्रमा रहेको पालिकामा कच्ची सडक पुगेपनि सार्बजनिक सवारी साधनको अभावले जनताले यातायात सेवा पाउन सकेका छैनन् । यसै कुरालाई मध्येनजर गर्दै जनप्रतिनीतिहरुले गाडी मोह त्यागेर जनहितमा निर्णय गरेको उपाध्यक्ष रमिला राईले बताउनुभयो । पालिकाले यसअघि स्काईभेटर खरिद गरी सडक सुधार, मर्मत तथा स्तरोन्नतीको कामहरु गरिरहेको छ ।
पालिकाका अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष रमिला राई, प्रमुख प्रशासकीय अधिकृत भक्त राई लगायतले सवारी साधनको रुपमा मोटरसाईकल नै प्रयोग गर्दै आएका छन् ।

उपाध्यक्ष राई महिला भएरपनि पहाडी सडकमा कुशल मोटरसाईकल चालक हुन् । जनताको काम र कार्यक्रमहरु भ्याइनभ्याई हुने भएकाले मोटरसाईकल कुदाउनै पर्ने अवस्था रहेको र कुदाउदा कुदाउदै पोख्त भएकी हुन् ।

अन्य सबै पालिकाका अध्यक्षहरु गाडीमा सवार गरिरहदा लिम्चुङबुङका अध्यक्ष राई मोटरसाईकलमै हिड्ने गरेका छन् । बजेट छुट्याएर गाडी किन्न सक्ने भएपनि आप्mनो भूगोल र जनताको अवस्थालाई मध्येनजर गरेर गाडी मोह छाडेर मोटरसाईकलमै चढिरहेका थिए । अव, फेरी पनि मोटरसाईकल नै चढेर जनतालाई बसमा चढाउने अभियानमा जुटेका अध्यक्ष राईले भने “पहिले जनतालाई बस चढाउछु अनि मात्र म गाडी चढ्छु ।”
जनहित र जनपक्षीय सो निर्णयको लिम्चुङबुङबासीले मात्र स्वागत गरेका छैनन् जिल्लाभरी नै स्वागत र चर्चा चुलिएको छ ।
स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकारको जनपक्षीय कामको आभास दिलाउन र संघीय शासनको प्रत्याभूति दिलाउने उद्देश्यले सो पालिकाले सुरुदेखि नै विकास, निर्माण, शिक्षा, स्वास्थ्य, उद्यम, कृषि, पर्यटन जस्ता जनपक्षीय कामहरु गर्दै आएको छ ।