Friday, February 7News That Matters

‘……पार्टीका पत्रकार ज्यू !’

दमन राई 

सानोछँदा रेडियो नेपालको घटना र विचार नछुटाई सुन्ने गर्थेँ । जोसिलो स्वरमा फरर्र खबर वाचन गरेको मलाई औधी मनपथ्र्यो । मावलीमा बस्दा हजुरबाको रेडियो सुनेर ममा रेडियोप्रतिको प्रेम सुरु भएको थियो । रेडियो सुन्दा रेडियोभित्र कत्रा–कत्रा मान्छे होलान्जस्तो लाग्थ्यो । कहिलेकहीँ त हजुरबाले जे बोल्नुहुन्छ त्यही कुरा रेडियोमा सुनिन्छ जस्तो पनि लाग्थ्यो । साँझमा बालबाटिका होस् या बेलुका प्रहरी कार्यक्रममा आउने सन्देशमुलक नाटक सकेसम्म छुटाउन मनले मान्दैनथ्यो । गाउँकै एकजना भाईको सानो रेडियो किन्नका लागि आमालाई रोईकराई गरेको अहिलेजस्तो लाग्छ । साथमा पैसा थिएन । आमाले गाउँमै सरसापटी गरेर जुटाउनु भएको पैसाले रेडियो हातमा पर्दा फुरुङ्ग बनेको थिएँ । जे होस् एक किसिमले सानैदेखि रेडियोप्रेमी बनेको थिएँ । बेलुकाको ७ बजेपछि प्रशारण हुने घटना र बिचारको वाचन र शैली सुन्दा ‘यसरी नै बोल्न पाए हुन्थ्यो’ भन्ने रहर पलाउँथ्यो । पत्रकारितामा डो¥याउन त्यही वालापनको रहरले काम गरेको हो । म अहिले जहाँ छु, त्यही रहरको योगदान हो ।

पत्रकारितामा नलागेको भए सायद अहिले कुनै विद्यालयमा शिक्षण गरिरहेको हुन्थेँ । निजी शिक्षककारुपमा काम गर्दागर्दै म पूर्णकालिन पत्रकारितामा हाम फालेको हुँ । शिक्षक भइ टोपलेकैबला २०६२÷०६३ मा नेपाल पत्रकार महासंघ शाखा खोटाङले सञ्चालन गरेको आधारभुत पत्रकारिता तालिम लिने अवशर पाएँ । महासंघका तत्कालिन उपसभापति गंगाबहादुर राई (हाल गाईघाट)को सिफारिस बोकेर त्यो तालिममा पुगेको थिएँ । गंगा दाईको सिफारिस स्वरुपको चिट दिएपछि महासंघका तत्कालिन अध्यक्ष डम्बरसिं राईले तालिममा सहभागी गराउनु भएको थियो । त्यही तालिमले पनि पत्रकारिताका लागि थोरै योग्य बनेँ भन्ने मनोवल बढाएको थियो । यद्यपी, त्यसबेला गाउँमा बसेर पत्रकारिता कठिन थियो । एक त काम गर्ने मिडिया पनि थिएन । अर्थात कुनै पनि मिडियासम्म मेरो पहुँच थिएन । कुनै न कुनै मिडिया पाए हुन्थ्यो भन्ने खोजीमा थिएँ । तयार पारेको समाचार दिपेन्द्र दाई (गोरखापत्र)ले काठ्माण्डौंबाट प्रकाशन हुने पत्रिकामा प्रकाशन गरेर सहयोग गर्नुहुन्थ्यो । त्यहीक्रममा दिक्तेलमा पूर्णपुष्टी साप्ताहिकको एक अंक प्राप्त गरेँ । त्यहाँ भोटराज दाई लगायतको नाम र नम्बर राखिएको थियो । त्यही उल्लेख भएको ठेगाना टिपेर कापीमा लेखेको समाचार हुलाकबाट पठाएँ । नभन्दै त्यो समाचार पूर्णपुष्टीमा प्रकाशित भएर आयो । शिर्षक ‘गाउँको विकासमा महिला’ यस्तै–यस्तै थियो, ठ्याक्कै बिर्सेँ । नचिनेको मान्छेले पठाएको भए पनि समाचार राम्रो भएकै कारण प्रकाशित भएको रहेछ । त्यही समाचारले पनि मलाई निरन्तर लेख्न उत्प्रेरित ग¥यो । भोटराज दाईलाई पछिबाट एसटिएम फोनबाट सम्पर्क गरेको थिएँ गाउँबाट । उहाँले निरन्तर समाचार पठाउन आग्रह गरेपछि मलाई खुबै उत्साह जागेको थियो । पछि पूर्णपुष्टीको सम्बाददाता बनेँ र च्यास्मीटारबाटै काम गरेँ । फोन, इमेल÷इन्टरनेटको सुविधा थिएन । समाचार तयार पारेर चिठीमा पठाउँथेँ । च्यास्मीटार माबिमा कार्यरत रहेकै अवस्थामा पूर्णपुष्टी पत्रिका आउँथ्यो । ग्राहकलाई बाँड्थेँ ।

गाउँमा बस्दा जानी नजानी समाचार तयार पार्थेँ । समाचारमा निपूण कहिल्यै होइन्न रहेछ । अहिले पनि समाचार लेख्नमा दक्ष बन्न नसकेकैजस्तो लाग्छ । एकातिर शिक्षण, एकातिर पत्रकारिता । दुबै पेशामा अडिरहन सक्ने अवस्था थिएन । एउटा मात्र पेशामा लाग्नुपर्ने नैतिक दवाव थियो ममाथि । किन पनि भने एउटा व्यक्ती दुई पेशामा बस्नु नैतिक हिसावले पनि उपयुक्त लागेन । अन्ततः पत्रकारिता पेशालाई नै रोजेँ र दिक्तेल बस्न थालेँ । यो ठाउँसम्म आइपुग्न पूर्णपुष्टीलाई खुड्किलो बनाएको छु । द¥है खुड्किलो टेक्न पाएको रहेछु । यही कारण म यस ठाउँमा उक्लिन सफल छु ।

सुरु–सुरुका दिन पत्रकार भनेपछि ठुलै मान्छे बनियो जस्तो लाग्थ्यो । अहिले त्यस्तो लाग्दैन । अहिले त जहाँतहीँ ‘पत्रकार हुँ’ भनेर हिँड्न पनि अप्ठ्यारो लाग्छ । किनभने समाजले पत्रकारलाई हेर्ने नजर उँचो छ । पत्रकारिताप्रतिको बिश्वास र भरोसा धेरै माथि छ । तर, हाम्रो भूमीका र स्तर धेरै तल छ । पव्लिकले खोजेको र आशा गरेजस्तो पत्रकारिता गर्न नसकेको अवस्थामा ठूलो स्वरमा ‘पत्रकार हुँ’ भनेर परिचय दिन असहज लाग्दो रहेछ । पत्रकारिता गरेको दिन बढिरहँदा आफुलाई झनै झनै सिकारुकारुपमा पाउँछु ।

पत्रकारिताको काम नै गलत काम र प्रबृत्तिलाई निरुत्साहित गर्नु हो । अशल कामलाई साथ दिनु हो । लेख्नेक्रममा कमिकमजोरी हुन सक्छन् तर, नियत राखेर गलत मनसायले पत्रकारिता गर्नु हुँदैन । यती हुँदाहुँदै पनि पत्रकारितामा बग्रेल्ती समस्या छन् । हामी पत्रकार आफैले पत्रकारिताप्रतिको बिश्वास गुमाइरहेका छौँ । कतिपय ठाउँमा पत्रकार भनेर चिनाउँनै असहज हुने अवस्थामा पुगेका छौँ । तथ्य केहो भन्ने कुरा नबुझी हल्लाको पछि कुदिरहेका हुन्छौँ । अरुलाई दोष देखाउँदा देखाउँदै हामी आफैले आफ्नो अनुहारलाई हेर्न भुलिरहेका छौँ । एउटा चुनाव आए भने हाम्रो पत्रकारिता नांगेझार हुने अवस्था छ । पत्रकारहरु कुनै न कुनै पार्टीको मुखपत्रकारुपमा उदांगो भएर प्रस्तुत भएका उदाहरण गनेर साध्य छैन । एक कार्यक्रमका एक वक्ताले ‘आदरणीय कांग्रेसका पत्रकार ज्यूहरु, एमालेका पत्रकार ज्यूहरु, माओबादीका पत्रकार ज्यूहरु…’ भनेर व्यांग्यात्मक सम्बोधन गरेको बेला–बेलामा सम्झिन्छु । उनको सम्बोधन तितो भए पनि यतार्थ त्योभन्दा फरक छैन । पव्लिकले पत्रकार झोले, भजनमण्डली नहोस् भन्ने नै चाहन्छ । तर, त्यसतर्फ कहिले ध्यान जाने ? एउटै विषयलाई तथ्यका आधारमाभन्दा स्वार्थका आधारमा प्रस्तुत गर्दा पाठकको सत्य तथ्य सुचना पाउने अधिकार नै कुण्ठित भइरहेको छ । सत्यतथ्य बंग्याएर प्रेसित समाचारले पाठकलाई सुसूचितभन्दा पनि दिग्भ्रमित बनाइरहेको छ । स्वतन्त्ररुपमा सत्यतथ्य सूचना दिने पत्रकारको संख्या न्यून छ । शैली गलत नै भए पनि द्धारिकालाल चौधरीको आक्रोशको पारो चढ्नुमा गलत पत्रकारिताको केही हात छ । त्यही भएर जिम्मेवारीबोध सहितको पत्रकारिता आजको आवश्यकता हो भन्ने लाग्छ । पव्लिकले कस्तो पत्रकारिता खोजिरहेको छ भन्नेमा ध्यान दिन सके मात्र हामीप्रतिको बिश्वास जगाउन सफल हुनेछौँ ।

अन्तमा, जीवनका उर्वर समय पत्रकारितामा खर्च गरिसकियो । बाँकी समय यसैमा खर्च हुनेछ । यहाँसम्म आउँदा जे जती उपलव्धी प्राप्त भए, त्यसको हिस्सेदार यो पूर्णपूष्टी साप्ताहिक पनि हो । फलले पूर्णपुष्टीको हाँगो नुहियोस् । थप उत्तरोत्तर प्रगतीको कामना ।