Tuesday, March 25News That Matters

पुरानो उदयपुरगढीमा झण्डोत्तोलन र सरसफाई

उदयपुर, फागुन २० गते ।

संरक्षणको अभावले नामनिसान नै हराउन लागेको उदयपुरको एक ऐतिहासिक स्थल उदयपुरगढीमा सोमबार झण्डोत्तोलन तथा सरसफाई गरिएको छ ।

सेना दिवसको अवसर पारेर नेपाली सेनाको उदयपुरको बोक्सेस्थित रणशार्दुल गणले आयोजना गरेको कार्यक्रममा नेपाली सेनाको १८ नं. वाहिनीपति हिमांशु खड्का, उदयपुरगडी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले संयुक्तरुपमा झण्डोत्तोलन गरेको थियो ।

Vedio News

झण्डोत्तोलन तथा सरसफाई गरिएपछि स्थानीय सरकार र स्थानीबासिन्दाको संरक्षणमा चासो बढेको छ । राष्ट्रियता बलियो पार्न सबैको दायित्व रहेको भन्दै नेपाली सेनाले ऐतिहासिक स्थलको खोजी तथा संरक्षणमा चासो देखाएको खड्काले बताए ।

गाउँपालिकाको व्यवस्थापन, स्थानीयबासी, नागरिक समाज, पत्रकार, कर्मचारी, संघसंस्थाका प्रतिनिधि र साईक्लिष्टहरुको सहभागितामा भएको कार्यक्रमले उदयपुरगढीको ऐतिहासिक र पर्यटकीय महत्व बढाउनुका साथै प्रचारप्रसार बढाएको मगरले बताए ।

ऐतिहासिक स्थलको संरक्षणमा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको भन्दै समन्वय र सहकार्य गरेर अगाडी बढ्ने स्थानीय सरकार प्रमुखहरुले बताएकाछन् ।

समुन्द्र सतहदेखि करिब ११ सय मिटर उचाईमा रहेको उदयपुरगढीमा इश्वि सम्बत १३२६ तिर सेनवंशी राजा उदय सेनले शासन गरेको इतिहास पाईन्छ । पृथ्विनारायण साहको राज्य एकिकरणपछि पलायन भएको राईले बताए ।

संरक्षणको अभावमा भग्नावशेष पनि झाडी र बनले पुरिसकेको छ । स्थानीयले नै झण्डै विर्सिसकेको अवस्थामा सरसफाईका साथ झण्डा गाडिएपछि जो कोहीलाई पुरानो उदयपुरगढी चिन्न अव मुस्किल नपर्ने भएको छ । ओझेलमा रहेको पुरानो उदयपुरगढीको संरक्षण र सम्बद्र्धनका लागि पर्यटन विकाससंगै जोडेर अगाडी बढ्नुपर्ने स्थानीय बुद्धिजिवि बोधकुमार घिमिरेले बताए ।