
नेपालमा कोरोना संक्रमितको संख्या साढे १६ हजार नाघे । पछिल्लो २४ घण्टामा थप १ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको हो ।
-*-
गतराति आएको बाढी र पहिरोले निर्माणाधीन मध्य भोटेकोशी आयोजनामा क्षती । बाह्रविसे नगरपालिकाको जबमु बजारसहितका क्षेत्रमा आएको बाढी र पहिरोले मानविय क्षतीसँगै सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्य भोटेकोशी आयोजनामा ठूलो क्षति पु¥याएको हो ।
-*-
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाको नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थामा फेला । सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
-*-
गत वैशाखदेखि अहिलेसम्म ८ सय ४ वटा विपद्का घटनामा १ सय ४ जना भन्दा बढीको मृत्यु । त्यस्तै ३ जना बेपत्ता भएका छन् भने ३ सय ४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
-*-
सिन्धुपाल्चोकमा खहरे खोलाको बाढीले बगाउँदा २२ जना वेपत्ता । बाह्रबिसे र भोटेकोशीमा बाढीले घर बगाउँदा २२ जना बेपत्ता भएका हुन् ।
-*-
भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
-*-
सरकारले सार्वजनिक यातायात संचारन गर्न दिने निर्णय । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गरेर संचालन गर्न दिने निर्णय गरेको हो ।
-*-
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान । गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बिहीबार गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।
-*-
चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि । प्लेग संक्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेको छ ।
-*-
सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो ।
-*-
भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा गरेको प्रचारले सीमा नाघेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । नेता श्रेष्ठले ट्वीट गर्दै भारतीय सञ्चारमाध्यमले सरकार र प्रधानमन्त्री ओलीका बारेमा गरेको अनर्गल प्रचारलाई बकवासको संज्ञा दिनुभएको छ ।
-*-
सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने जनाएको छ ।
-*-
आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।
-*-
मोरङको पथरीमा नहरमा डुबेर एक बृद्धाको मृत्यु । पथरी शनिश्चरे नगरपालिका–७ को नहरमा डुबेर स्थानीय ७१ बर्षीया लालमाया तामाङको मृत्यु भएको हो ।
-*-
सुनसरीको धरान उप–महानगरपालिका–१४ बिजयपुरमा आगलागी हुदा २ घर जलेर नष्ट । हिजो बिहान पौने १० बजे स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा छिमेकी कमल राईको घर जलेर नष्ट भएको हो ।
-*-
मोरङमा जंगली च्याउ खाएर २ जना विरामी । मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका हुन् ।
-*-
ओखलढुङगामा ट्रक दुर्घटना हुदा चालकको मृत्यु । सिद्धिचरण नगरपालिका–८ सेतिदेवी स्थित सिद्धिचरण राजमार्गमा ट्रक दुर्घटना हुँदा चालक नवराज कार्कीको मृत्यु भएको हो ।
-*-
सुनसरीको बराहक्षेत्रमा निगुरो टिप्न जंगल गएका एक जनाको मृत्यु । बराहक्षेत्र नगरपालिका–११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको हो ।
-*-
भोजपुरको खेसाङ खोलामा डुबेर एक जनाको मृत्यु । पौवादुम्बा गाउँपालिका–३ का १८ बर्षीय दिवस राईको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
-*-
मोरङको बिराटनगर महा–नगरपालिका–१६ बाट लागूऔषध सहित १ जना पक्राउ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजे बिराटनगर महा–नगरपालिका–७ का २० बर्षीय आनन्द कुमार पासवानलाई लागुऔषधसहित पक्राउ परेको हो ।
-*-
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) दर्ता । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी आयोगमा दर्ता भएको हो ।
-*-
नेस्पेक उदयपुरले त्रियुगा नगरपालिका–१५ खाँबुमा सोमवार कृषि औजार र विउविजन हस्तान्तरण । वल्डभिजन इन्टरनेशनल नेपाल र साझेदार संस्था नेस्पेक उदयपुरले उक्त सामग्री वितरण गरेको हो ।
-*-
कोरोना रोकथाम तथा नियन्त्रणको लागी बेलका नगरपालिकामा स्वास्थ्य सामाग्री वितरण । इन्सेक नेपालको सहयोगमा मानव अधिकार समिति बेलकाले नगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
-*-
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित हात पारे । गतराति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो ।
-*-
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको असामयिक निधन । मन्त्रिपरिषद बैठकको क्रममा बिरामी परेका ६१ वर्षीय प्रधानमन्त्रि कोलाबालीको लगत्तै निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
-*-
आज सुनको भाउ फेरी बढे । सुन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
