Thursday, June 18News That Matters

पोखरामा रमाइरहेका युवालाई हेलिकप्टरमा स्याङ्जा पुगेर फुटबल हेर्ने रहर जागेपछि

पोखरा
पूर्णपुष्टि,माघ ६ । स्याङ्जाको बालिङमा गत पुष ३० गतेदेखि बालिङ गोल्डकप प्रतियोगिता चलिरहेको थियो । वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो ।

वालिङकै स्थानीय विनोद गैरे, खिमबहादुर थापा, सुशील थापालगायत ४ जना युवा सोहिवेला पोखरामा रमाइलो गरिरहेका थिए । उनीहरुले वालिङमा फुटबल भइरहेको भन्ने थाहा पाएपछि रमाइलैको बिचमा वालिङ जाने निर्णय गरे र ४० हजारु रपैयाँमा प्रभु हेलिकप्टर बुक गरे । वालिङको मैदानमा खेल भइरहेको थियो । पाइलटले मैदान नजिकै हेलिकप्टर ल्याण्ड गर्ने तयारी गरेका थिए । तर यात्रुले मैदानमै झार्न दबाव दिएपछि हेलिकप्टरका पाइलट रानेश डंगोलले मैदानमै हेलिकप्टर ल्याण्ड गरे ।

खेल चलिरहेका बेला हेलिकप्टर ल्याण्ड हुँदा सुरुमा केही इमजेन्सी होला भनेर मैदानमा रहेका खेलाडी, आयोजक र दर्शक अलमलिएका थिए । तर चार जना यात्रु झारेपछि कुनै समस्या नभइ जानेर नै हेलिकप्टर अवतरण गरेको थाहा पाएपछि खेल आयोजक आक्रोसित बने । ‘पोखरामा मदिरा सेवानमा रमाउँदै रहेछन् र कुरामा कुरा चल्दा हेलिकप्टर नै बुकिङ गरेर प्रतियोगिता हेर्न जाने सल्लाह गरेर आएका रहेछन्,’ एक जना स्थानीयले भने, ‘उनीहरु वालिङका राम्रै परिवारका व्यक्ति हुन् ।’ खेल मैदानमा मै हेलिकप्टर उतारेपछि क्याम्टेन र यात्रुसँग स्थानीय र आयोजकले जवाफ मागेका थिए । त्यही क्रममा उनीहरुले पाइलट डंगोल र यात्रुलाई हात पात गरे ।

‘के कारणले खेल चलिरहेका बेला मैदानमै हेलिकप्टर झारेको भनेर आयोजन, स्थानीय र खेलाडीबीच भनाभन भएछ । त्यही क्रममा धकेलाधकेल भएको हामीले जानकारी पायौं,’ हेलिकप्टर आउँने सम्बन्धमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले भने, ‘कसैसँग पनि समन्वय नभएको बताए । ‘बिना जानकारी खेल चलिरहेको बेला किन हेलिकप्टर पठाइयो भनेर नागरिक उड्डयन प्राधिकरणलाई लेखेर पठाएका छौं,’ सीडीओ क्षेत्रीले भने, ‘यात्रु नझारी नहुने कारण के रहेछ अनुसन्धान गर्नु भनेर प्रहरीलाई निर्देशन दिएको छु ।

खेलमैदानमा अवतरण गरेको हेलिकप्टर पोखरा फर्केको छ । वायुसेवा सञ्चालक संघले पाइलटमाथि कुटपिट भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।