
पूर्णपुष्टि,माघ २१
नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गर्ने भएको छ । सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड–नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न गर्ने घोषणा गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति जबर्जस्ती र निरंकुशतन्त्रको उपज भएको बताउनुभयो । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताउनुभयो ।
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताउनुभयो । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।
