पूर्णपुष्टि/खोटाङ, फागुन ५ गते
-प्रथम खोटाङ आईडल, १६ वर्षीय तेजकुमार राई बनेका छन् । शनिबार राति दिक्तेलमा सम्पन्न फाईनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आईडल बनेका हुन् ।
आईडल बनेसँगै उनले नगद रु ५४ हजार ५७४ को साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात परेका छन् । पुरस्कार हात पार्नुका साथै राईलाई छ महिना सँगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताउनुभयो ।
विजेता राईलाई दिक्तेलस्थित ईटिसी मोवाईल सेन्टरले २१ हजार मुल्य बराबरको मोटोरोला मोवाईल प्रदान गरेको छ । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा स्कलरसिपमा कक्षा ९ अध्ययनरत राई केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरका हुन् ।
‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आईडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दिपा राई पाँचौं भएका छन् । प्रतियोगितामा दोश्रो हुनेले नगद २४ हजार ५७४ का साथमा ३ महिना सँगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद १० हजार ५७४ का साथमा एक महिना सँगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
परिवर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोमा चौथो हुनेलाई रु दुई हजार ७४ नगद, एउटा गीत रेकर्डिङ र प्रमाणपत्र, पाँचौं हुनेलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ । गत मङ्सिर २३ गतेबाट शुरु प्रतियोगितामा जिल्लाका ५५० जनाले प्रतिस्पर्धामा भाग लिएका थिए ।
दिक्तेस्थित सरस्वति माविको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा सँगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र सँगीतकार भिमसेना राईले निर्णयकको भूमिका निर्वाह गर्नुका साथै बेजोड साँगीगितक प्रस्तुति रहेको थियो । राति अबेरसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल आईडलका उत्कृष्ट आठमा पर्न सफल गायक उल्सन श्रेष्ठ, गायत रेवत राई लगायतले दर्शक नचाएका थिए ।