पूर्णपुष्टि, पुष २६
प्रदेश नं १ मा माओवादी केन्द्रले सरकारमा समामेल नहुने निर्णय गरेको छ । सत्ता साझेदार दलबीच केन्द्रमा भएको सहमतिले आफ्नो अपमान भएको ठहर गर्दै नेकपा माओवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारमा सामेल नहुने घोषणा गरेको छ।
प्रदेश १ मा एमालेका तर्फबाट आइतबार हिक्मतबहादुर कार्की मुख्यमन्त्री नियुक्ति भएका छन्। उनले सोमबार शपथ लिने र सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन्। तर, आइतबार साँझ काठमाडौंमा भएको शीर्ष तहको बैठकले प्रदेश १ लाई आलोपालोमा नराखेपछि प्रदेशमा असन्तोष देखिएको हो।
‘आलोपालोको पूर्व सहमति विपरित भएका सम्झौता नसच्चिएसम्म हामी सरकारमा सामेल हुँदैनौं’, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘यसले हाम्रो प्रदेश पार्टी र संसदीय दलको अपमान भएको हाम्रो ठहर छ।’
केन्द्रीय तहको गठबन्धनले प्रदेश १ सरकारको नेतृत्व चार वर्षसम्म एमालेलाई नै दिने सहमति गरेको निर्णयको विरोधमा माओवादीको प्रदेश १ ले यस्तो घोषणा गरेको हो । प्रदेश सरकारको नेतृत्व आलोपालो ढंगले गर्ने पूर्व सहमति उल्ट्याइएको भन्दै प्रदेश १ मा माओवादीले निर्णय नसच्याएसम्म सरकारमा सामेल नहुने बताएको हो।
