पूर्णपुष्टि, माघ ७ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले प्रतिस्पर्धामा उत्रिएका नेपाली कांग्रेसका युवा नेता गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै अव छैटौँपटक प्रधानमन्त्री बन्नको लागि बाटो खुला बनेको छ । उनको छैटौपटक प्रधानमन्त्री बन्ने सपनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तगारो बनेका छन् ।
बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए । जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन् । । कि गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए । तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो ।
आलोपालो गर्ने विषयमा तपाईं र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ । सरकारको नेतृत्व गर्ने पालो अब माओवादीलाई दिनुपर्छ । त्यसपछि फेरि पालो त तपाईंकै हो, अर्थमन्त्री शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्रचण्डले देउवालाई गलाउनकै निम्ति एमाले कार्ड खेलेको स्रोतको दाबी छ। माओवादी अहिले पनि यही गठबन्धनलाई निरन्तरता दिन चाहेको स्रोतको भनाइ छ । माओवादी यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छ। तर त्यससँगै पहिले सरकारको नेतृत्व पनि दाबी गर्छ, माओवादीका एक नेताले भने । देउवाले मनोमानी गरे गठबन्धनबाट बाहिरिने र एमालेसँगको सम्बादलाई अगाडि बढाउने ती नेताको भनाइ छ।
