
पूर्णपुष्टि, साउन २१
गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । आव २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यस कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन् ।
मन्त्रालयले गत आवमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने बेरुजु फछ्यौंट पनि ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको जनाएको छ ।
