
पूर्णपुष्टि,फागुन ४
सरकारले फागुन २३ देखि समुदायस्तरमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । यो अभियान एक सातादेखि १० दिनसम्म चल्नेछ । यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ ।
त्यसमा पनि सबैभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकहरु ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् ।
मुलुकमा हालसम्म ५५ वर्ष माथिका व्यक्ति कोभिडबाट बढी प्रभावित देखिएका छन् । नेपालमा ७५ वर्ष माथिका नागरिकको संख्या करिब ६ लाख छ । सरकारले खोपको उपलब्धताका आधारमा फागुन २३ देखि खोप लगाउने उमेर समूह चयन गर्ने नीति लिएको छ । सबैभन्दा पहिले ७५ वर्ष माथिकालाई चयन गरिन्छ, त्योभन्दा बढी खोप भए ७० वर्ष, ६५ वर्ष, ६० वर्ष र प्रशस्त खोप भए ५५ वर्ष माथिकाहरूका लागि खोप अभियान सञ्चालन गरिन्छ स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताउनुभयो ।
फागुन अन्तिम सातादेखि समुदायमा सुरु गरिने खोप अभियानमा सम्भवतः अक्सफोर्ड–अस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप नै उपयोग गरिनेछ । हाल यो खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डका नाममा उत्पादन गरिरहेको छ । स्वास्थ्य अधिकारीहरूले कोभ्याक्सअन्तर्गत अक्सफोर्ड अस्ट्राजेनेका खोप ३ प्रतिशत जनसंख्याका लागि करिब–करिब २२ लाख ५६ हजार मात्रा २ सातापछि आउने दाबी गरेका छन् । यो खोप आएपछि अभियान अझ तीव्र पारिने उनीहरूको भनाइ छ । यसबाहेक नेपाल सरकारले भारत सरकारसँग खोप किन्ने तयारी पनि गरेको छ ।
