Friday, February 7News That Matters

फोक्सिङ्टार पक्की पुलको काम सुस्त

पूर्णपुष्टि/खोटाङ, माघ २९ गते

-ठेकेदार कम्पनीको लापरबाहीका कारण सुनकोशी नदीको निर्माणाधीन पक्की पुल निर्माण सुस्ताएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको फोक्सिङ्टारमा अवस्थित सुनकोशी नदीमा निर्माण हुन लागेको पक्की पुल निर्माण कार्य सुस्ताएको हो ।

पुल निर्माण कार्य अगाडि बढ्न नसकेका कारण पक्की पुल निर्माणको काम अलपत्र परेको स्थानीयबासीहरुले दुःख व्यक्त गरेका छन् । दुई वर्षअघि निर्माण शुरु गरिएको उक्त पक्की पुलको पिलर गाड्नका लागि खाल्डो खन्ने र आरसीसी ब्रिजको काम बाहेक कुनै काम हुन हुन सकेको छैन ।

पक्की पुल बिलम्ब हुनुमा ठेकेदार र विभागका उच्चपदस्थ कर्मचारी जिम्मेवार भएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । “निर्धारित समय २०७५ चैत भित्र पक्की पुल सम्पन्न नभएन भने जनता लिएर कालोमोसो दल्न जाने तयारीमा छु ।” उहाँले भन्नुभयो, “तोकिएको समयमा सम्पन्न गर्न दबाब दिइरहेको छु ।”

तराईसँग जोडिने सबैभन्दा छोटो दुरीको सडकखण्ड अन्तरगत पर्ने उक्त पक्की पुल निर्माण हुन नसक्दा सर्वसाधारणहरुले वर्षेनी सास्ती खेप्नु परेको छ । राष्ट्रिय योजना आयोगको १९ करोड आर्थिक सहयोगमा गौरी पार्वती निर्माण सेवा कम्पनी प्रालिले पक्की पुल निर्माणको जिम्मा लिएको हो ।

ठेकेदार कम्पनीले भने पुल निर्माणको लागि आवश्यक सामग्री सबै मेसिनहरु रहेकोले तत्काल काम शुरु गर्ने बताएका छन् । शुरुमा लठ्ठावाला पुलको डिजाइन भएको उक्त पक्की पुलको फेरी डिजाईन परिर्वतन गरेर निर्माण थालिएको हो ।

दिक्तेल–गाईघाट सडकखण्ड अन्तर्गत सुनकोशी नदीमा पक्की पुल नहुँदा हिउँदमा अस्थायी बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने र वर्षायाममा बेलिब्रिज खोल्ने गरिएको छ । २०६९ सालमा निर्माणको सम्झौता भएको पक्की पुल २०७३ चैत मसान्त भित्र निर्माण गरिसक्नु पर्ने जिल्ला प्राविधिक कार्यालय खोटाङले जनाएको छ ।

पक्की पुलको विषयमा खोटाङबाट निर्वाचित जनप्रतिनिधिहरुको अग्रसरतामा सडक विभागमा सरोकारवालाहरुको १४ माघमा बैठक बसिसकेको थियो । सडक विभागका महानिर्देशक, पुल महाशाखा प्रमुख, आयोजना प्रमुख सहितका उच्चपदस्थ कर्मचारी, निर्माण कम्पनीका प्रमुख रामकुमार थापा सहितको बैठकमा पुल अबिलम्ब निर्माण गर्नुपर्ने जनप्रतिनिधिहरुले दबाब दिएका थिए ।