Friday, February 7News That Matters

बन्दले उदयपुरको जनजिवन प्रभावित

उदयपुर, फागुन ३० गते ।

नेकपा माओवादी (विप्लब समुह) को बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण बजार, पसल बन्द छन् भने यातायात सेवा पनि ठप्प छ । एकाविहानैदेखि उदयपुरका मुख्य बजारहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुची सानसुन छन् । चारपांग्रे सवारी साधन नचल्दा सडक पनि सुनसान देखिएका छन् । शैक्षिक क्षेत्र पनि बन्द रहेका छन् ।

बन्दको क्रममा अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले विहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । चोक, गल्ली र सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यातायात सेवा ठप्प हुँदा लामो दुरीका यात्रुहरु अलपत्र परेका छन् । विहानै धरान, विराटनगर, काकडभिट्टा, दिक्तेल, काठमाडौं लगायतका ठाउँमा जानुपर्ने यात्रुहरु अलपत्र भई बस्न बाध्य छन् ।

स्थानीयका अनुसार सदरमुकाम गाईघाटमा बन्दको दिन उज्यालो नहुदै विहानीमा विष्फोटनको ठूलो आवाज सुनिएको थियो । बम विष्फोटन गराएको हुनसक्ने स्थानीयको आशंका छ । आवाज सुनिए पनि के र कहाँ भन्ने थाहा नभएको सुरक्षा स्रोतले जनाएको छ ।