
उदयपुर, फागुन ३० गते ।
उदयपुरको कटारीमा दुईओटा बम फेला परेका छन् । कटारी नगरपालिका ३ देविधापमा एकै ठाउँमा राखिएको २ वटा सुतली बम फेला परेको हो ।
विहानै फेला परेको बमलाई स्थानीयले खबर गरेपछि प्रहरीले सुरक्षा घेरामा राखी नेपाली सेनाले डिस्पोज गरेको थियो । विप्लब माओवादीको बन्दले त्रसित त्यस क्षेत्रका स्थानीयहरु बम फेला परेपछि थप त्रसित बनेका छन् । सरकारले प्रतिबन्ध लगाएपछिको विप्लब माओवादीको यो बन्दले त्रास फैलाएको छ ।
स्थानीयका अनुसार सदरमुकाम गाईघाटमा बन्दको दिन उज्यालो नहुदै विहानीमा विष्फोटनको ठूलो आवाज सुनिएको थियो । बम विष्फोटन गराएको हुनसक्ने स्थानीयको आशंका छ । आवाज सुनिए पनि के र कहाँ भन्ने थाहा नभएको सुरक्षा स्रोतले जनाएको छ ।
नेकपा माओवादी (विप्लब समुह) को बन्दको कारण उदयपुरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण बजार, पसल बन्द छन् भने यातायात सेवा पनि ठप्प छ । एकाविहानैदेखि उदयपुरका मुख्य बजारहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुची सानसुन छन् । चारपांग्रे सवारी साधन नचल्दा सडक पनि सुनसान देखिएका छन् । शैक्षिक क्षेत्र पनि बन्द रहेका छन् ।
बन्दको क्रममा अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले विहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । चोक, गल्ली र सडकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यातायात सेवा ठप्प हुँदा लामो दुरीका यात्रुहरु अलपत्र परेका छन् । विहानै धरान, विराटनगर, काकडभिट्टा, दिक्तेल, काठमाडौं लगायतका ठाउँमा जानुपर्ने यात्रुहरु अलपत्र भई बस्न बाध्य छन् ।