पूर्णपुष्टि/उदयपुर, पुस २७ गते ।
जिल्ला वन कार्यालय उदयपुरको आयोजना तथा सेक्टर वन कार्यालय गाईघाटको व्यवस्थापनमा बुधबार मोतिगडास्थित सेक्टर वनको कार्यालयमा वन डढेलो सम्बन्धी सरोकारवालासंग अन्तर क्रिया सम्पन्न भयो ।
कार्यक्रममा वन कार्यालयको तर्फबाट वन डढेलोबाट हुने हानी, नोक्सानीको बारेमा जानकारी राखिएको थियो । साथै वनलाई डढेलोबाट जोगाउन अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिइएको थियो । डढेलोले प्राकृतिक सम्पदा, जैविका विविधता नष्ट हुने र यसले मानवीय जीवनलाई असर र प्रभाव पार्ने भएकोले वनलाई डढेलोबाट जोगाउनुपर्ने बताइएको थियो । खासगरी सुक्खा मौसममा वनलाई डढेलोबाट जोगाउन सचेतता अपनाउनुपर्ने बताइएको थियो । वनले विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुलाई सुक्खा मौसममा बन डढेलोबाट जोगाउन उपभोक्तालाई विशेष जागरुक र सचेत पार्ने काममा लाग्न अनुरोध गरेको थियो ।
सामुदायिक वन समुहका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरुले सबै मिलेर वन डढेलोको बारेमा सचेतना जगाउनु पर्नेमा जोड दिइएको थियो । विद्यार्थीदेखि गाउँबस्तीसम्म डढेलोबाट हुने हानी नोक्सानीको बारेमा जानकारी दिई सचेतता अपनाउनुपर्ने बारेमा जानकारी दिइनुपर्ने उनीहरुले बताए । विशेषगरी सुक्खा मौसम, हुरीबतासको बेला आगोजन्य वस्तुहरु सुरक्षित राख्ने, चुल्लोमा आगो नछाड्ने, केटाकेटीले भट्ने ठाउँमा सलाई, लाईटर नराख्ने, चुरोट खाएपछि राम्ररी निभाएरमात्र फाल्ने जस्ता सावधानीका उपायहरु अपनाउनुपर्नेमा जोड दिइएको थियो ।
सेक्टर वनका प्रमुख बासुदेव झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कर्मचारी रेनुका राईले गर्नुभएको थियो । कार्यक्रम प्रभावकारी ढंगले सम्पन्न भएको रेञ्जर कार्यक्रम संयोजक कमला श्रेष्ठले बताउनुभयो ।