Friday, July 10News That Matters

बराहक्षेत्रमा जंगली हात्ती मृत्त फेला

पूर्णपुष्टि, पुष ८ । बराह क्षेत्रको कौशिका सामुदायिक वन क्षेत्रमा जंगली हात्ती मृत्त अवस्थामा फेला परेको छ । सुनसरीको बहाहक्षेत्र नगरपालिका–२, स्थित कौशिका सामुदायिक वन क्षेत्रमा दुर्गन्धित अवस्थामा फेला परेकाले करिब तीन चार दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

अन्दाजी २५– ३० वर्षको देखिने दाह्रा निस्किएको मत्ता मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले दिएको सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले बताए । कानमा तीनवटा प्वाल रहेको र ट्याग लागेको अवस्थामा मत्ता मृत फेला परेको उनले बताए ।

वन कार्यालयका कर्मचारी खेमराज हाछेथुले उक्त हात्ती भारतको आसाम हुँदै पूर्वमेची नदी पार गरेर नेपाल छिरेका हुन् वा कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हो भन्ने विषयमा एकिन गर्न नसकिएको बनाए । वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि उक्त मत्ताको पोस्टमार्टम गर्ने तयारी भइरहेको वन कार्याययले जनाएको छ ।